सशस्त्र प्रहरीको मनसुन प्रतिकार्य योजना: आठ हजार बढी ‘स्ट्याण्डबाई’
२४ सै घण्टा उद्धार टोली तैनाथ
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
132
Shares
काठमाडौँ । मनसुनजन्य प्राकृतिक विपद्को बढ्दो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ अन्तर्गत देशैभर आफ्नो उपस्थिति र सक्रियतालाई तीव्र पारेको छ। सम्भावित बाढी, पहिरो र डुबान जस्ता विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरीले विशेष रणनीति र ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो।
सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलका अनुसार हालसम्म देशभरका २१ हजार ६ सय ९९ जना जनशक्तिलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी अवस्थामा राखिएको छ। असार मसान्तसम्म सङ्गठनका सम्पूर्ण कर्मचारीहरूलाई यस्तो तालिम दिइसक्ने लक्ष्य राखिएको छ। विपद् प्रतिकार्यकै लागि देशभर ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४ सै घण्टा ‘स्ट्याण्डबाई’ (तयारी हालतमा) रहने व्यवस्था मिलाइएको छ। यसका साथै, विभिन्न कार्यालयहरूमा ‘विपद् सम्पर्क व्यक्ति’ तोकेर सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्र पारिएको छ।
विपद्को समयमा तत्काल उद्धार टोली पुग्न कठिन हुने दुर्गम तथा जोखिमयुक्त स्थानहरूको पहिचान गरी सातै प्रदेशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेश’ स्थापना गरिएको छ। जसअन्तर्गत कोशीमा ६, मधेसमा ११, वागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ८ वटा वेश रहेका छन्।
यसै गरी, धनकुटाको मूलघाट, सुनसरीको चतरा, बाराको निजगढ, सप्तरीको भारदह, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, म्याग्दीको नारच्याङ र कैलालीको डुडेझारीसहित १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका स्थायी विपद् व्यवस्थापन वेशहरू तयारी अवस्थामा राखिएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सक्षम बनाउन १ सय ३४ जना गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका ११ जोखिमयुक्त स्थानमा खटाइएको छ। सशस्त्र प्रहरीसँग हाल ८२ वटा र्याफ्टिङ बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा रहेका छन्। विशिष्टिकृत तालिम प्राप्त ४ हजार ७ सय १० जना दक्ष कर्मचारीहरू उद्धार सामग्रीसहित तयारी हालतमा छन्।
स्वास्थ्य सेवाका लागि ८ वटा ‘मास क्याजुअल्टी भेइकल’ (सामूहिक दुर्घटना उद्धार गाडी) र ८ वटा ‘ए’ क्लास एम्बुलेन्सहरू विभिन्न बाहिनी तथा अस्पतालहरूमा व्यवस्था गरिएको छ। साथै, १० वटा ‘इमिडिएट रेस्पोन्स टिम’ (तत्काल कार्यदल) र १३ वटा हेभी इक्विपमेन्टहरू (डोजर, लोडर आदि) विभिन्न राजमार्ग तथा मुख्य करिडोरहरूमा तैनाथ गरिएका छन्।
विपद्को सूचना तत्काल प्राप्त गर्न सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने ‘रियल टाइम डाटा’ लाई आधार मानी प्रतिकार्य योजनालाई थप सुदृढ बनाइएको छ।
विपद् व्यवस्थापनमा जनसहभागिता बढाउन हालसम्म १ हजार ७ सय ४१ जना विपद् स्वयंसेवक तयार पारिसकिएको छ। स्थानीय तहमा १ लाख ६८ हजार ९ सय ५६ जना ‘विपद् सूचक’ हरूको सञ्जाल निर्माण गरिएको छ, जसले घटनाको तत्काल जानकारी दिनेछन्। यसका अतिरिक्त, देशभरका विद्यालय र समुदायमा २ हजार ३ सयभन्दा बढी सचेतनामूलक कार्यक्रम र ३ सय ४३ वटा कृत्रिम अभ्यास (मकट्रिल) सम्पन्न भइसकेका छन्। सम्भावित जोखिमका क्षेत्रहरूको नक्साङ्कन गरी मुख्य करिडोरहरूमा खोज तथा उद्धारको विशेष कार्ययोजना कार्यान्वयनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।