arrow

देशभर आपात्काल घोषणा

भेनेजुएलामा शक्तिशाली भूकम्पको महाविपत्ति: १६४ जनाको मृत्यु, ९७१ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
earthquake-venuzuala.jpg

काठमाडौँ । भेनेजुएलामा लगातार आएका शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको छ भने ९७१ जना गम्भीर घाइते भएका छन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार यस दुःखद् घटनाको आधिकारिक जानकारी दिँदै भूकम्पपछि हालसम्म करिब ३० वटा परकम्पहरू महसुस गरिएको बताएकी छन्। विनासकारी भूकम्पपछि भेनेजुएला सरकारले देशभर लागू हुने गरी 'आपात्कालीन अवस्था' घोषणा गरेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बुधबार स्थानीय समयअनुसार साँझ ६:०४ बजे पहिलो पटक ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसको लगत्तै ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को अझ विनाशकारी भूकम्प गएको थियो। यी दुवै भूकम्पको केन्द्रविन्दु राजधानी कराकसबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन नजिकै जमिनमुनि रहेको थियो। अधिकारीहरूका अनुसार यो भूकम्प भेनेजुएलाको इतिहासमा एक शताब्दीभन्दा बढी अवधिमा आएको सबैभन्दा शक्तिशाली र विनाशकारी भूकम्पमध्येको एक हो, जसको धक्का देशका विभिन्न भागहरूमा तीव्र रूपमा महसुस गरिएको थियो।

भूकम्पबाट उत्तरी भेनेजुएलाको ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ। दर्जनौँ भवनहरू पूर्ण रूपमा भत्किएर मरुभूमिजस्तै बनेको ला गुआइरा क्षेत्रलाई सरकारले ‘विपद् क्षेत्र’ घोषणा गरेको छ। चरम सङ्कटका बिच उक्त क्षेत्रमा खटिएका उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकाल्न सफल भएका छन्।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन देशभरका सम्पूर्ण स्रोत–साधन र सुरक्षा निकाय परिचालन गरेको जानकारी दिएकी छन्। उनले निजी क्षेत्रलाई पनि मानवीय विनास रोक्नका लागि उद्धार उपकरण तथा आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गर्न विशेष आह्वान गरेकी छन्। बिहानको उज्यालो भएसँगै भौतिक क्षतिको वास्तविक अवस्था अझ स्पष्ट देखिने भएकाले उद्धारकर्मीहरूले खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी र तीव्र बनाउने विश्वास कार्यवाहक राष्ट्रपतिले व्यक्त गरेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ