रास्वपामाथिका आरोप महाधिवेशनले खारेज गर्यो, व्यवहारमा परिपक्व बन्नुपर्छ: सभापति लामिछाने
पार्टीको नियत, राष्ट्रभक्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कुनै शंका नगर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
306
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनीतिक शक्तिको आरोपलाई पूर्ण रूपमा खारेज गरेको बताएका छन्।
चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सिंगो पार्टीको जित भएको बताए। सम्बोधनका क्रममा उनले भने, ‘जित–हार क्षणिक कुरा हो। यहाँ कसैले हारेको छैन। जस–जसले जित्यो, घण्टी बजाउनेले नै जित्यो, नील योद्धाले नै जित्यो। त्यसकारण सिंगो राष्ट्रको हितबाहेक कसैले पनि हारेको छैन।’ उनले निर्वाचनको प्रतिस्पर्धापछि देखिएका असहजतालाई बिर्सेर पार्टीलाई अझ सशक्त बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिए।
महाधिवेशनले पार्टीका नीति, विचार, सिद्धान्त र आदर्शलाई स्पष्ट रूपमा स्थापित गरेको उल्लेख गर्दै लामिछानेले रास्वपामाथि लगाइएका राजनीतिक आरोप अब टिक्न नसक्ने दाबी गरे। ‘राष्ट्रिय महाधिवेशनले हामीमाथि लागेको विचारविहीन, सिद्धान्तविहीनजस्ता संगीन राजनीतिक आरोपलाई पूर्ण रूपमा खारेज गरेको छ,’ उनले थपे, ‘हाम्रा दस्तावेजमा सुरुदेखि नै वैचारिक धरातल स्पष्ट थियो, तर धेरैले पढ्नै पाएनन्। अहिले त्यसलाई अझ विस्तृत रूपमा प्रस्तुत गरेका छौँ।’
लामिछानेले पार्टीको नियत, राष्ट्रभक्ति र लोकतन्त्रप्रतिको प्रतिबद्धतामा कुनै शंका नगर्न आग्रह गर्दै व्यवहार र अभिव्यक्तिमा भने थप परिपक्व बन्नुपर्ने स्वीकार गरे। राजनीतिक रूपमा आफूहरूले देखाउनुपर्ने जति परिपक्वता देखाउन नसकेको सत्य भए पनि नियत र देशभक्तिमा किञ्चित शंका नगर्न उनले आग्रह गरे।
महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र गुटबन्दी रहेको भन्ने चर्चा पनि अन्त्य गरेको उनको भनाइ थियो। निर्वाचनमा प्रतिनिधिहरूले पुराना र नयाँ दुवै समूहलाई जिम्मेवारी दिएकाले गुट बनेको भन्ने हल्लालाई चिरेको र नयाँ–पुरानाको बहस अब सकिएको उनले स्पष्ट पारे।
सभापतिका रूपमा आफूले निर्वाचन प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगरी संगठनको वास्तविक अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उनले पहिलो महाधिवेशनले पार्टीका शक्ति र कमजोरी दुवै चिनाउने अवसर दिएको बताए। तमाम कमजोरीका बाबजुद पनि सबैले देखाएको धैर्यता र योगदानका लागि उनले धन्यवाद समेत ज्ञापन गरे।