बुटवलमा मसला उद्योग विवाद समाधानको पहल, स्थलगत निरीक्षण गर्ने न्यायिक समितिको निर्णय
नारायण वली,
प्रकाशित २०८३ असार १३ शनिबार
271
Shares
लुम्बिनी । बुटवलको देवीनगरस्थित सांग्रिला पथमा रहेको रारा मसला उद्योगका कारण स्थानीय बासिन्दाले भोग्नुपरेको स्वास्थ्य संकटबारे हाम्राकुरा डटकममा प्रकाशित समाचारको गम्भीर प्रभाव परेको छ । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले विवादका दुवै पक्षलाई शुक्रबार इजलासमा डाकेर तत्काल समाधानका लागि छलफल गराएको हो ।
बुटवल उपमहानगरपालिका वडा न-११ शिवशक्ति टोल विकास समिति अन्र्तगत सांग्रिला पथमा सञ्चालित मसला उद्योगका कारण स्थानीय बासिन्दाले भोग्नुपरेको स्वास्थ्य संकटबारे समाचार बाहिरिएपछि बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण भएको छ ।
छलफलमा प्रभावित स्थानीय बासिन्दाका तर्फबाट प्रतिनिधित्व गर्दै दुई जना पीडितले आफ्ना समस्याहरू स्पष्ट रुपमा राख्दै उद्योगबाट निस्कने खार र अस्वस्थकर धुलोका कारण दैनिकी कष्टकर बनेको र श्वासप्रश्वास तथा एलर्जीको गम्भीर समस्या भोग्नुपरेको दुःखेसो पोखेका थिए ।
यस्तै उद्योगको पक्षबाट उद्योगी कृष्णलाल भुसाल र रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली बोलेका थिए । पराजुलीले उद्योगको बचाउ गर्दै व्यवसाय गर्ने अधिकारमा जोड दिँदै समय खर्चिए । पराजुलीले स्थानीय बासिन्दाले भोग्नुपरेको जनस्वास्थ्यको विषयलाई भने सम्बोधन गरेनन् ।
अध्यक्षको त्यस्तो प्रस्तुतिपछि स्थानीय पीडितहरू थप आक्रोशित बनेका छन् । उनीहरूले आफूहरूले उद्योग बन्द गराउन नखोजेको तर जनस्वास्थ्यमा खेलबाड नगर्न खार र आवाजलाई पूर्णरुपमा न्यूनीकरण गर्नुपर्ने माग राखेको भन्दै मसला उद्योगका सञ्चालकले बोलाएका उद्योग संघका अध्यक्षले राजनीतिक गर्न खोजेको आरोप लगाए ।
प्रभावित स्थानीयहरू भन्छन्, 'उहाँ उद्योग संघको अध्यक्ष कृष्ण पराजुलीले जनस्वास्थ्यको बिषयमा गम्भीरता देखाउनु भएन, उद्योगको पक्षमा मात्रै बोल्नुभयो ।'
सरोकारवाला निकायको प्रतिनिधिसमेत भएको हैसियतले मावन स्वास्थ्यमा परेको असरप्रति बेवास्ता गर्दै उद्योगका कारण स्थानीयले खेप्दै आएको समस्यामा राजनीति गरेर दबाउन खोजेको महसुस भएको न्यायिक समितिमा उजुरी पेश गरेका पीडित हरि कार्कीले भने ।
पीडित कार्की भन्छ्न्, 'मैले श्रीमतीको घाँटीको एलर्जी समस्या विगत एक दशकदेखि भोग्दै आएको छु । पटकपटक मैले उद्योगीलाई सुझाव दिएँ, यसअघिका टोल विकास संस्थामा दुई पटक समस्यामा परेको निवेदन पनि दिए तर तत्कालिन टोल विकास अध्यक्षले कुनै वास्ता गर्नुभएन । यतिमात्रै होइन, म यो भन्दाअघि छुट्टीमा आएको बेला उद्योगी कृष्णलाल भुसाल सरलाई उहाँकै कार्यकक्षमा भेटेर समस्या अवगत गराउँदा उल्टै उहाँले मलाई तपाईले के गर्न सक्नुहुन्छ गर्नुस्, मैले उद्योग सार्दैन भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै बोल्नुभएको थियो ।'
यता उद्योग सञ्चालकले भने आफूहरूले आवश्यक प्रविधि जडान गरेको र सबै मापदण्ड पूरा गरेरै उद्योग सञ्चालन गरिरहेको जिकिर गरे । न्यायिक समितिको इजलासमा उपस्थित भएका मसला उद्योगका सञ्चालक कृष्णलाल भुसालले 'भवन मात्रै छ, उद्योगको निरीक्षण गर्नसक्नु हुन्छ । टोलमा छलफल छैन । तपाईहरूले मलाई विकल्प दिनुहोस्', भने ।
न्यायिक इजलासमा सहभागी शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष रेशमबहादुर महराले टोलमा छलफल भएन भन्नु निराधार आरोप र गलत भएको जनाउँदै आफू टोल विकासको अध्यक्षमा निर्वाचित भएर आएपछि उक्त समस्याका बारेमा उद्योगका सञ्चालक कृष्णलाल भुसालका छोरा दीपक भुसाललाई बैठकमा राखी छलफल गराएर निर्णय गराएको बताए ।
न्यायिक समितिकी संयोजक बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले दुवै पक्षको कुरा सुनेपछि उद्योग पनि चल्नुपर्ने र मानव स्वास्थ्यसँग खेलवाड गर्न पनि नमिल्ने भन्दै न्यायिक समितिले आगामी सोमबार वा मंगलबार वातावरण इन्जिनियरसहित उपमेयरको नेतृत्वमा उद्योगको स्थलगत निरीक्षण गर्ने र समस्याको दीर्घकालीन र वैज्ञानिक समाधान खोज्ने बताइन् ।
अनुगमन टोलीले उद्योगको अवस्था, त्यसले वातावरण र जनस्वास्थ्यमा पारेको प्रभावको प्राविधिक अध्ययन गरेपछि मात्रै न्यायिक समितिले अन्तिम निर्णय गर्ने जनाइएको छ ।
यता पीडित स्थानीयहरूले प्रभावित टोलवासीलाई समेत सहभागी गराएर उद्योग निरीक्षण गर्नुपर्ने, निरीक्षणका क्रममा सबै मेसिनहरू चलाएर, कच्चापदार्थहरू पिस्न लगाएर अनुगमन गर्नुपर्ने माग राखेका छन् ।