मेस्सीको गोलसँगै अर्जेन्टिना शीर्ष स्थानमा, जोर्डनको विश्वकप यात्रा समाप्त
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
374
Shares
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’को अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
अर्जेन्टिनाले पहिलो हाफमै खेलमा नियन्त्रण जमाएको थियो। खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता २-० बनाए।
दोस्रो हाफमा जोर्डनले उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। ५५औँ मिनेटमा वैकल्पिक खेलाडी मुसा अल-तामारीले एहसान हद्दादको सटिक लो-क्रसलाई गोलमा परिणत गर्दै अन्तर २-१ मा झारे।
तर खेलको ८०औँ मिनेटमा कप्तान लियोनल मेस्सीले आफ्नो अनुभव देखाउँदै अर्जेन्टिनाका लागि तेस्रो गोल गरे।
दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले उत्कृष्ट फिनिस गर्दै जोर्डनको पुनरागमनको सम्भावना समाप्त पारे।
त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा अर्जेन्टिनाले ३-१ को सहज जित निकाल्यो।
यस जितसँगै अर्जेन्टिनाले समूह चरणका तीनवटै खेल जित्दै ९ अंकका साथ समूह ‘जे’को शीर्ष स्थान सुरक्षित गर्यो।
जोर्डन भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
अर्जेन्टिना अब विश्वकपको नकआउट चरणमा उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित अघि बढ्नेछ।