काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनलाई देशको लोकतन्त्र सिध्याउने प्रतिगामी षड्यन्त्र भएको टिप्पणी गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले उक्त आन्दोलन विशेष गरी नेपालको वामपन्थी, देशभक्त र लोकतान्त्रिक आन्दोलनलाई नै लक्षित गरेर रचिएको प्रपञ्च भएको दाबी गरे। वैधानिक सरकारलाई सडकबाट अवैधानिक ढंगले विस्थापन गर्ने र संसद् भङ्ग गर्ने कार्य कुनै पनि हालतमा लोकतान्त्रिक हुन नसक्ने उनको तर्क थियो। आफूहरूले जनता निराश हुनुपर्ने गरी कुनै पनि नराम्रो काम नगरेको जिकिर गर्दै उनले एमालेकै कारण मुलुक बर्बाद भयो भन्ने भाष्य गलत भएको बताए।
समारोहमा बोल्दै उनले भने, "नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई सिध्याउने गरी भदौ २३ र २४ मा प्रतिगामी षड्यन्त्र भयो। त्यस षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो र असंवैधानिक ढंगले संसद् भङ्ग गर्यो। वैधानिक सरकार भङ्ग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन, तर नेपालमा त्यही गरियो। हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी गरेका छैनौँ। हाम्रा केही कमीकमजोरी रहे होलान्, त्यसमा हामी आत्मसमीक्षा गरौँला। तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य पूर्णतः गलत हो। हामीले देश बर्बाद पारेनौँ, बरु अगाडि बढायौँ।"
अध्यक्ष ओलीले देशको विकास र मुलुकको हितमा आफ्नो दलले पुर्याएको योगदानलाई विभिन्न सूचक र प्यारामिटरहरूमा हेर्नुपर्नेमा जोड दिँदै नियोजित भ्रम र भाष्यको पछि नलाग्न सबैमा आग्रह गरे।