फिफा विश्वकपमा सट्टेबाजी गर्ने स्थानमा छापा, लाखौँको कारोबार पर्दाफास
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
190
Shares
काठमाडौँ । फिफा विश्वकप सन् २०२६ लाई लक्षित गरी सञ्चालन भइरहेका अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधि विरुद्ध मलेसियामा कारबाही गरिएको छ। मलेसियन अधिकारीहरूले देशव्यापी रूपमा चलाएको विशेष अपरेसनका क्रममा अहिलेसम्म ३३१ जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्।
बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूको साथबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको र ६ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको अवैध सट्टेबाजी लेनदेनको पर्दाफास भएको जानकारी दिए।
मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को प्राविधिक सहकार्यमा गत जुन ११ देखि यो विशेष अपरेसन सुरु गरिएको हो। आगामी जुलाई १९ सम्म जारी रहने यस अभियानका क्रममा प्रहरीले हालसम्म देशका विभिन्न २९३ स्थानमा छापा मारिसकेको छ।
प्रहरी टोलीले डिजिटल माध्यममा पनि कडा निगरानी बढाउँदै वेबसाइट र सामाजिक सञ्जालमार्फत हुने जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उनले बताए।
निर्देशक मुथुवेलुका अनुसार अधिकारीहरूले अवैध फुटबल सट्टेबाजी र जुवाको प्रचारप्रसारका लागि प्रयोग भइरहेका १८५ वटा वेबसाइटहरू पहिचान गरेका छन्।
यसका साथै विभिन्न अनलाइन प्लेटफर्महरू र सामाजिक सञ्जालका खाताहरू समेत अवैध जुवा प्रवर्द्धनमा सक्रिय रहेको पाइएकाले तिनलाई बन्द गराउने र संलग्न सञ्चालकहरूमाथि कडा कानुनी कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे।