सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
271
Shares
काठमाडौँ। अर्थविद् डा. चन्द्रमणि अधिकारीले पूँजीबजारको वर्तमान अवस्थालाई कुनै एक कारणसँग मात्र जोडेर व्याख्या गर्न नसकिने बताएका छन्।
बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप तथा लगानीकर्ताको मनोविज्ञानलगायतका विभिन्न पक्षले बजारलाई प्रभावित गरिरहेको उनको भनाइ छ।
उनले विगतमा शेयर बजारमा सीमित व्यक्तिको पकड रहेको र इन्साइडर ट्रेडिङ भएको भन्ने चर्चा व्यापक रूपमा हुने गरेको स्मरण गर्दै त्यसको केही प्रभाव अहिले पनि देखिन सक्ने बताए।
‘म यो कुरा शतप्रतिशत सत्य हो भनेर भन्न सक्दिनँ, तर बजारमा त्यस्ता चर्चा भइरहेका थिए। पहिले बजारमा भूमिका खेल्ने केही समूह अहिले सक्रिय हुन नपाउँदा पनि त्यसको प्रभाव परेको हुन सक्छ,’ उनले भने।
डा. अधिकारीका अनुसार साना लगानीकर्ताले दुई, तीन वा चार लाख रुपैयाँ लगानी गर्दैमा बजारको समग्र दिशा परिवर्तन गर्न सक्दैनन्। बजारको उतारचढावका पछाडि संरचनागत, नीतिगत तथा मनोवैज्ञानिक कारणहरू पनि उत्तिकै जिम्मेवार रहेको उनको विश्लेषण छ।
उनले लगानीकर्ताको मनोविज्ञानले पनि पूँजीबजारमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे। कतिपय लगानीकर्ताले आफ्नो असन्तुष्टि खुला रूपमा व्यक्त नगरे पनि सरकारप्रति पूर्ण विश्वासको वातावरण नबन्दासम्म लगानी विस्तार हुन नसक्ने उनको धारणा छ।
‘सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म लगानीको वातावरण बन्दैन,’ उनले भने, ‘लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया सरल हुनुपर्छ, नीति तथा कानुन स्पष्ट र सहज हुनुपर्छ, साथै सरकारी संयन्त्रले लगानीकर्तालाई अनावश्यक झन्झटमा पार्नु हुँदैन।’
उनका अनुसार लगानीमैत्री वातावरण निर्माणका लागि प्रशासनिक तथा संरचनागत सुधार अपरिहार्य छ। सरकारले पछिल्लो समय प्रशासनिक प्रक्रियामा केही सरलता ल्याउने प्रयास गरेको उल्लेख गर्दै उनले त्यस्ता सुधारलाई अझ प्रभावकारी र निरन्तर बनाउनुपर्ने आवश्यकता औंल्याए।
दीर्घकालीन रूपमा पूँजीबजारको दिगो विकासका लागि पारदर्शिता, सुशासन, नीतिगत स्थिरता तथा लगानीकर्ताको विश्वास नै सबैभन्दा महत्वपूर्ण आधार भएको डा. अधिकारीले बताए।