महामन्त्री पौडेल भन्छन् - कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
366
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकता दिएको बताएका छन् । नेपाली कांग्रेस धादिङले आइतबार काठमाडौँमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले युवालाई कांग्रेसको विधानले विशेष व्यवस्था गरेको बताए ।
“कांग्रेसले संशोधन गरेको विधानमा स्थानीय तह, प्रदेश तह, केन्द्र, पार्टीको क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिमा युवालाई विशेष व्यवस्था गरेका छौँ”, उनले भने ।
महामन्त्री पौडेलले मुलुकको राजनीतिक स्थायित्व र मुलुकको आर्थिक विकासका लागि कांग्रेस सशक्त रूपमा अगाडि बढ्नुपर्ने बताए । उनले पार्टीको स्थानीय तह, प्रदेश तह र केन्द्रमा युवाको सहभागिता सुनिश्चित गर्नका लागि पार्टीको क्रियाशील सदस्यमा युवा सहभागिता बढाउनुपर्ने उल्लेख गरे ।
उनले पार्टी डिजिटल प्रविधिमा अगाडि बढेको भन्दै समयमै आफ्नो सदस्यता डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्न सबैलाई आग्रह गरे । महामन्त्री पौडेलले विगत ३५ वर्षमा केही भएन भन्नु गलत भएको भन्दै ३५ वर्षमा मुलुकको शिक्षा, स्वास्थ्य र मोटरबाटो क्षेत्रमा उल्लेख्य काम भएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य रमेश धमलाले सबै राजनीतिक दललाई संसदीय प्रक्रियामा ल्याउन कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले निर्वाचनमा बहुमत प्राप्त गरेको दलले जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीलाई अगाडि बढाउन युवालाई अगाडि बढाउनुपर्ने बताए । कांग्रेसको तर्फबाट धादिङका प्रतिनिधि बनेका महाधिवेशन प्रतिनिधि सुशील भट्टले पार्टीमा १८ वर्षदेखि ३५ वर्षसम्मका युवाको सहभागिता सुनिश्चित गर्नका लागि कांग्रेसले युवा केन्द्रित अभियान सञ्चालन गरेको जानकारी दिए ।