निर्णयसँगै रातो कार्ड खाएका अमेरिकी स्ट्राइकर बालोगुनले मंगलबार हुने बेल्जियमविरुद्धको खेल खेल्ने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
307
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ को जारी खेलहरूका बीच एक अप्रत्याशित र नाटकीय निर्णय बाहिर आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्टार स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सिधै फोन गरी बालोगुनमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। बोस्निया एन्ड हर्जेगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका कारण बालोगुन स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए।
फिफाको अनुशासन समितिले आइतबार आफ्नो निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ बमोजिम बालोगुनमाथिको स्वतः लागू हुने एक खेलको प्रतिबन्धलाई एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको जनाएको छ।
यो निर्णयसँगै २५ वर्षीय बालोगुन मंगलबार हुने बेल्जियम विरुद्धको संवेदनशील खेल खेल्न योग्य भएका छन्। जारी विश्वकपमा तीन गोल गर्दै अमेरिकालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका बालोगुनले बोस्नियाविरुद्धको खेलको ६४औँ मिनेटमा रातो कार्ड खाएका थिए।
फिफाको यो कदमलगत्तै राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, "ठीक निर्णय गरेर टोलीमाथि हुन लागेको ठूलो अन्याय सच्याएकोमा फिफालाई धेरै–धेरै धन्यवाद।"
फिफाको यो निर्णयले फुटबल जगतमा ठूलो विवाद र बहस सिर्जना गरेको छ। राजनीतिक दबाबका आधारमा नियम मिचिएको भन्दै विपक्षी टोली बेल्जियम फुटबल महासङ्घले कडा आपत्ति जनाएको छ। महासङ्घले फिफाले अनुशासनसम्बन्धी नियमको गलत व्याख्या गरेको आरोप लगाउँदै यसबारे उपलब्ध सबै कानुनी विकल्पहरूको अध्ययन गरिरहेको स्पष्ट पारेको छ।
अमेरिका सन् २००२ को विश्वकपिछ पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउने ऐतिहासिक मोडमा उभिएको छ। अमेरिका र बेल्जियमबीच विश्वकपको नकआउट चरणमा १२ वर्षपछि भेट हुन लागेको हो।
यसअघि सन् २०१४ को विश्वकपको अन्तिम १६ मा यी दुई टोली भिडेका थिए, जहाँ अतिरिक्त समयमा बेल्जियमले अमेरिकालाई २–१ ले पाखा लगाएको थियो। सो खेलमा अमेरिकी गोलरक्षक टिम हवार्डले ऐतिहासिक १६ वटा बचाउ गरे पनि टोलीलाई जिताउन सकेका थिएनन्।
अब प्रमुख स्ट्राइकर बालोगुन नै मैदान उत्रिन पाउने भएपछि अमेरिकी टोली र समर्थकहरू उत्साहित बनेका छन् भने खेलअगाडि नै फिफाको भूमिकालाई लिएर सुरु भएको विवादले मंगलबारको भिडन्त थप तनावपूर्ण र रोचक बन्ने निश्चित छ।