कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसदले मागे गृहमन्त्रीको जवाफ
'नागरिक भीरमा अड्किएर गुहार्दा पनि उद्धारमा किन लापरबाही भयो?' : रमेश प्रसाईं
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
282
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भइरहेका दर्दनाक सवारी दुर्घटना र फितलो उद्धार कार्यबारे संसद्मा गृहमन्त्रीको आधिकारिक जवाफ माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रसाईंले नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य कुनै पनि बहानामा पन्छिन नपाउने चेतावनी दिए।
उनले कर्णाली राजमार्गमा हुने शृङ्खलाबद्ध दुर्घटनाहरूलाई राज्य र समाजले केवल एउटा सामान्य 'समाचारको विषय' मात्र बनाएको भन्दै कडा आपत्ति प्रकट गरे। नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अरू केही हुन नसक्ने उल्लेख गर्दै उनले हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाए।
संसद्मा ओजपूर्ण ढङ्गले आफ्नो भनाइ राख्दै सांसद प्रसाईंले भने,‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ। दुर्भाग्यवश समाज र राज्य यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन्।’
उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण स्रोत र क्षमता परिचालन गरे-नगरेको विषयमा तत्काल छानबिन हुनुपर्ने उनले बताए। भीरमा अड्किएका नागरिकले बाँच्नका लागि हारगुहार गर्दागर्दै पनि उद्धारमा भएको चरम लापरबाही र ढिलासुस्तीको सत्यतथ्य तुरुन्त बाहिर ल्याउन उनले सरकारसँग माग गरे।
सांसद प्रसाईंले कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक घटनाहरू दोहोरिन नदिन सरकारसँग के-कस्ता दीर्घकालीन योजनाहरू छन् भनी प्रश्न गरे। नागरिकको जीवनसँग जोडिएको यस संवेदनशील विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै उनले गृहमन्त्रीलाई तत्काल रोष्टममा उभिएर संसद्मा जवाफ दिनका लागि सभामुखमार्फत रुलिङको जोडदार माग समेत गरे।