अब मुलुकमा रगतको होइन, पसिनाको क्रान्ति आवश्यक छ : हर्कराज राई
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
337
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई कडा चेतावनी दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले मुलुकमा संविधान संशोधनको बहस चलिरहँदा यी स्थापित आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुक गम्भीर राजनीतिक दुर्घटनामा फस्न सक्ने सचेत गराए।
अब मुलुकमा फेरि कुनै रगतको क्रान्ति नभई देश निर्माणका लागि 'पसिनाको क्रान्ति' आवश्यक रहेको उनले उल्लेख गरे। देशमा रोजगारीको चरम अभावका कारण दैनिक हजारौँ युवाहरू विदेशिनु परिरहेको कारुणिक यथार्थलाई औंल्याउँदै अध्यक्ष राईले नेपाली युवाहरूलाई स्वदेशमै भविष्य खोज्ने र बाँच्ने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरे।
बैठकमा बोल्दै अध्यक्ष राईले दार्चुलाको टिङ्कर सडकको नाजुक अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराए। राष्ट्रिय गौरवका र रणनीतिक योजनाहरू विशेष गरी सीमा क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उनले टिङ्कर सडक निर्माण कार्यलाई युद्धस्तरमा तीव्रता दिन माग गरे।
सहकारी संकटका विषयमा आफ्नो धारणा राख्दै उनले राज्यकोषको रकम (जनताको कर) बाट सहकारीको दायित्व व्यहोर्नु सरासर गलत हुने स्पष्ट पारे। ठगहरूको निजी सम्पत्ति जफत गरेर मात्र पीडित बचतकर्ताको पैसा फिर्ता गरिनुपर्ने धारणा राख्दै उनले दोषीमाथि हालसम्म गरिएको कारबाही र असुलउपर गरिएको रकमको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे।
यस्तै, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको उचित पुनर्वास र वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई विस्थापित गर्न नहुने बताउँदै अध्यक्ष राईले वास्तविक भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्दा कुनै पनि किसिमको राजनीतिक पूर्वाग्रह राख्न नहुनेमा जोड दिए।