प्रधानमन्त्री साह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा सहकार्य गरिने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
131
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्। नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री निवासमा भएको यस भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार आधा घण्टा चलेको उक्त भेटवार्तामा प्रधानमन्त्री साहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालले विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे।
भेटका क्रममा जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन एवं पर्यटकीय सडक पूर्वाधारको विकासमा थप सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।
एडीबीका अध्यक्ष कान्डाले नेपालमा विकास सहयोगलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए।
उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, सरकारको बलियो जनादेश र युवा नेतृत्वको उच्च प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्याए। नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता संसारकै लागि प्रेरणादायी रहेको उनको भनाइ थियो।