होल्डिङ सेन्टरका सुकुम्बासीलाई गाँस-बासको व्यवस्था गर्न रुलिङको माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
252
Shares
काठमाडौँ। प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी नागरिकहरूलाई तत्काल गाँस र बासको व्यवस्था गर्न सरकारका नाममा रुलिङ जारी गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन्।
होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकहरूका लागि गाँस, बास र कपासको समेत उचित व्यवस्था नभएको पीडादायी खबरहरू सार्वजनिक भइरहेका बेला बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद तामाङले यस्तो माग गरेका हुन्। सरकारले सुकुमवासीहरूलाई सम्मानपूर्वक जिउन पाउने गरी आधारभूत आवश्यकताहरूको तत्काल व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। सुकुमवासी बस्ती भत्काएर नागरिकलाई बिचल्लीमा पार्ने सरकारको नियतप्रति उनले कडा आपत्ति जनाए।
संसद्मा बोल्दै सांसद तामाङले भावुक र आक्रोशित मुद्रामा भने, ‘मलाई आज एउटा खबरले बडो टेन्सन गरायो। सुकुमवासी बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा पुर्याइएकी सविना कार्कीले त्यहाँ खाना र बस्ने व्यवस्था नभएको, बालबच्चा पाल्न समस्या भएको भन्दै "म त एक लिटर पेट्रोल लिएर बसेको छु" भनिन्। यो सुन्दा बडो चिन्ता लागेको छ। हामी यहाँ छौँ, यो सबै देखिरहेका छौँ, यस्तो अवस्था हुनु कति पाच्य हुन सक्छ?’
उनले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै थपे, ‘सभामुख महोदय, सरकारलाई होल्डिङ सेन्टरका नागरिकको गाँस, बास र कम्तीमा पनि एउटा सम्मानित जीवन बिताउने वातावरण बनाओस् भनेर तत्काल रुलिङ गर्नका लागि म आग्रह गर्न चाहन्छु।’