राष्ट्रिय सभा बैठक बस्दै, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
219
Shares
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बिहीबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकसँग सम्बन्धित समितिका प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ का प्रतिवेदनहरू पेस गर्नेछन्।
यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सो विधेयकमाथि छलफल सकिएपछि आजै ‘आर्थिक विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।
यसका साथै अर्थमन्त्री डा. वाग्लेले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त विधेयकलाई समेत पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।