arrow

शहीद गौतमलाई ११ तोपको राष्ट्रिय सम्मानसहित आईतबार अन्त्येष्टि

सीमाको विषयमा लड्ने गौतमको नाममा नेपाल–भारत सीमा क्षेत्रमा गेट बनाउन माग

logo
ईश्वरदत्त बडू/दिपेन्द्र बस्नेत,
प्रकाशित २०७३ फागुन २८ शनिबार
nepali_flag_nepal.jpeg
कञ्चनपुर । अतिक्रमको बिरोध गर्दै प्रदर्शन गर्ने क्रममा बिहीबार भारतीय प्रहरीको गोली लागेर मृत्यु भएका गोबिन्द गौतमको आइतबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बिहीबार पुनर्बासको आनन्दबजार स्थित सीमा क्षेत्रमा भारतीय हस्तक्षेपको बिरोधमा नेपालीहरुले गरेको प्रदर्शनका क्रममा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गौतमको ज्यान गएको थियो । 
 
सीमा रक्षाका निम्ति गरिएको प्रदर्शनका बेला शहादत प्राप्त गौतमको आइतबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो । भोलि बिहान पुनर्बासको आइबिआरडी र टाउन बजारमा परिक्रमा गरी शवयात्रा निकाली दोन्दा नदीमा अन्त्येष्टि गरिने शनिबार बसेको सर्बपक्षीय बैठकमा सहभागी माओबादी केन्द्रका नेता रामबहादुर देबकरले बताए । 
 
आइतबार बिहान ८  बजेदेखि शवयात्रा निकाली बजार परिक्रमा गर्दै शहादत प्राप्त गरेका गौतमको अन्त्येष्टि गरिने तयारी गरिएको नेपाली काँग्रेसका पुनर्बास नगर सभापति यम प्रसाद पौडेलले बताए । सीमा क्षेत्रमा भारतीयको ज्यादती विरुद्द प्रदर्शन गर्दै गर्दा शहादत प्राप्त गरेका गौतमका एक श्रीमती र ३ छोरी रहेका छन् । गौतमको बिहीबार भारतीय प्रहरीको गोलीबाट मृत्यु भएको कारणबाट पुरै पुनर्बास शोकमा डुबेको छ ।
 
नेपाल–भारत सीमा क्षेत्रमा गेट बनाउन माग
पुनर्वासका स्थानीय राजनीतिक दलहरुले शहिद गोविन्द गौतमको नाममा घटना स्थल (नेपाल–भारत) सीमा क्षेत्रमा गेट बनाउन माग गरेका छन् । शनिबार पुनर्वासका सर्वदलीय राजनीतिक दलको बैठकले नेपाली भूमिको रक्षार्थ भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका गौतमको सम्झनामा घटना स्थलमा गेट बनाउनुपर्ने माग अघि सारेका हुन् । 
 
नेकपा माओवादी पुनर्वासका नेता बीर बहादुर थापाले पुनर्वासका स्थानीय राजनीतिक दलहरुबीच गौतमको सम्झनामा गेट निर्माण, शालिक, र उनको नामबाट गाउँको नाम राख्ने सहमती भएको बताए । नेता थापाका अनुसार  बैठकले सरकारले घोषणा गरेको राहत स्वरुपको १० लाखलाई स्वीकारर्दै राहत बढाउनका लागि समेत सबै दलहरुले सरकारसँग माग गर्ने निर्णय गरेका छन् । 
 
यस्तै मृतक गौतमकी धर्मपत्ती गोमती गौतमलाई पुनर्वास नगरपालिका कार्यालयमा जागिर दिलाउन समेत सबै दल एकमत भएका छन् । ‘मृतक गोबिन्दकी श्रीमती गोमतीलाई योग्यताका आधारमा नगरपालिकामा रोजगार दिलाईन्छ, ‘उनले भने, ‘मृतक परिवारको दैनिक गुजारा संचालनमा सजिलोका लागि स्थानीय तहमा रोजगार उपलब्ध गराईएको हो ।’ 
 
पुनर्वासका स्थानीय राजनीतिक दलहरुले उक्त क्षेत्रमा शसस्त्र प्रहरी बलको सीमा सुरक्षा क्याम्प स्थापनाका लागि समेत माग अघि सारेको छ । यस अघि पनि पटक पटक सरकारसंग सीमा सुरक्षाका लागि क्याम्पको माग गर्दै आएका थिए । शनिबार पनि गौतमको अन्त्येष्टि हुन सकेन् । पुनर्वासका स्थानीय राजनीतिक दल, नागरिक समाजले राजकिय अन्त्येष्टीका लागि प्रधानमन्त्री, गृहमन्त्री या मन्त्री आउनुपर्ने र राष्ट्रियताको विषयमा मारिएको भन्दै राहत समेत बढाउनुपर्ने माग अघि सार्दै आइतबारका लागि अन्त्येष्टी सारिएको पुनर्वासका स्थानीय प्रेम बस्नेतले बताए ।  
 
उनका अनुसार गौतमको पोष्टमाष्ट भएपनि चौतफि रुपमा उच्च पदस्थ कर्मचारी आएमात्रै उच्च सम्मानका साथ अन्त्येष्टी गर्न स्थानीयहरुले माग अघि सारेका छन् । यता घटना स्थलमा भने शनिबार दुई अघिल्ला दिनभन्दा अवस्था समान्य बन्दै गएको छ । नेपाली सुरक्षाकर्मीले घटना स्थलभन्दा ५०० मिटर वरसम्म निश्चित इलाका छुट्याएपछि स्थानीयहरुलाई घटना स्थल पुग्न रोकावट गरिएको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ