गणेश नेपालीको भारत उपचार यात्रा रोकियो, वीर अस्पतालमै विशेष टोली खटियो
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
593
Shares
काठमाडौँ । सरकारले चिकित्सकहरूको अन्तिम सुझाव अनुसार जलनका गम्भीर बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण (सिफ्ट) गर्दा ज्यानकै जोखिम हुन सक्ने चिकित्सकहरूले बताएका हुन्।
यसअघि उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुआतमा दिएको सुझावका आधारमा सरकारले नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित 'एम्स' अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। सरकारले उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै बेहोर्ने निर्णय गरिसकेको छ।
बिरामीलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडक खुला गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरेका थिए। साथै सरकारले हवाई उद्धार (एयर एम्बुलेन्स) को समेत व्यवस्था गरेको थियो भने भारतको विमानस्थलबाट एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त मिलाइएको थियो।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ। उनको स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकहरूले अवस्था स्थिर (स्टेबल) भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन्। सोही कारण गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेन साहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाई) गएरातिदेखि निरन्तर खटिएका छन्।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ जनाको विशेष स्वास्थ्यकर्मी टोली उनको जीवन रक्षाका लागि अहोरात्र खटिएको छ। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सहभागी छन्। चिकित्सकहरूको टोलीले उनको रक्तचाप (ब्लड प्रेसर) लाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ।