काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। संसद् भवनमा दिउँसो सवा १ बजे बस्ने बैठकका लागि संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्रीहरूबाट उत्तर दिने कार्यसूची रहेको छ। जसअनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछिन्।
यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पनि आफ्नो मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची तय गरिएको छ।
बैठकको उत्तरार्धमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची छ। उक्त प्रतिवेदनमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने सो क्रममा उठाइएका जिज्ञासा र सुझावहरूका सम्बन्धमा सरकारका तर्फबाट जवाफ दिइने संसद् सचिवालयले जनाएको छ।