arrow

काठमाडौँ अर्बपति र करोडपतिको मात्रै सहर हो ?

सरकारको नीति अर्बपति र करोडपतिको पक्षमा मात्रै, गरिब नागरिक यो सहरमा बाँच्नै नसक्ने भए [भिडियो]

सरकार गरिबलाई चाहिन्छ, तर नीति उल्टो छ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
gyanendra-sahi-gyan-bd.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका सम्पूर्ण नीति र निर्णयहरू अर्बपति तथा करोडपतिहरूको पक्षमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले राज्यको यस्तै गरिबमारा नीतिका कारण आज मुगुका गणेश नेपाली जस्ता सर्वसाधारण नागरिकले आत्मदाह गरेर मर्नुपर्ने विदारक अवस्था आएको जिकिर गरे।

प्रधानमन्त्री बालेन्द्र साहलाई सिधा प्रश्न गर्दै नेता शाहीले काठमाडौँ सहर हुनेखानेहरूको मात्रै हो कि गरिब, दुःखी, श्रमिक र निमुखाहरूको पनि हो भनी जवाफ मागेका छन्। "म यो सम्मानित सदनमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई विनम्र अपिल गर्न चाहन्छु– यो काठमाडौँ सहर अर्बपति र करोडपतिहरूको मात्रै हो? यो गरिब, दुःखी, श्रमिक र निमुखाहरूको सहर हो वा होइन? यदि गरिब दुःखी जनताको सहर होइन भने यो नेपालको राजधानी किन भयो?" शाहीले आक्रोश पोखे, "अघिल्लो पटक मेयर भएदेखि नै यो अवस्था सिर्जना भएको छ र आज गरिब, दुःखी जनता यो सहरमा बाँच्नै नसक्ने स्थितिमा पुगेका छन्।"

सभामुखमार्फत सरकारको कार्यशैलीमाथि प्रहार गर्दै नेता शाहीले अर्बपति र करोडपतिहरूलाई सरकारको खासै आवश्यकता नपर्ने तर समाजका गरिब, निमुखा र अपहेलित वर्गलाई राज्यको आड चाहिने बताए। तर, वर्तमान सरकार ठीक उल्टो बाटोमा हिँडेको उनको आरोप छ।

"आज सरकारका ऐन, नियम र नीति हेर्दा हुनेखाने, करोडपति र अर्बपतिहरूको पक्षमा केन्द्रित देखिन्छ। मन्त्रीपरिषद्का निर्णयहरू नै यसका प्रमाण हुन्," नेता शाहीले थपे, "जसको खल्तीमा पैसा छ, उसले मात्र नेपालमा बाँच्न पाउँछ, तर जसको खल्तीमा पैसा छैन, उसले बाँच्न पाउँदैन भन्ने खालको सन्देश सरकारको नीति तथा कार्यक्रमले दिइरहेको छ।" उनले गणेश नेपालीको मृत्यु राज्यको गलत नीतिको उपज भएको ठहर गर्दै गरिबमैत्री शासन व्यवस्था कायम गर्न सरकारसँग माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ