साउन महिनाका लागि पशुपति क्षेत्रमा विशेष सफाइ अभियान
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
237
Shares
काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने लाखौँ भक्तजनको सहजतालाई ध्यानमा राख्दै पशुपति क्षेत्रमा विशेष सफाइ अभियान शुरू गरिएको छ।
साउन महिना र सोमबारलाई आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले यस अवधिमा पशुपतिनाथमा दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ। भक्तजनहरूलाई सहज रूपमा सेवा दिने र मन्दिर परिसरलाई स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि यो सफाइ अभियान थालेको हो।
कोषका कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार अभियानको पहिलो दिन आज पशुपतिनाथको मूल मन्दिर क्षेत्रदेखि सूर्यघाटसम्म सफाइ गरिएको छ। पहिलो दिनको यस अभियानमा दर्जनभन्दा बढी सङ्घसंस्थाहरूको सहभागिता रहेको थियो।
यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिइन्। आइतबार मूल मन्दिर बन्द भएपछि सुरक्षा निकायसहितको सहभागितामा सूक्ष्म रूपमा सफाइ गरिने कोषको तयारी छ।
कोषले आजदेखि शुरू गरेको यो सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने योजना बनाएको छ। साउन महिनाभरिका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता हेरेर विशेष सफाइ अभियान सञ्चालन गरिने कोषले जनाएको छ।