मनसुनजन्य रोग नियन्त्रणका लागि सरकारको ‘प्रतिकार्य अभियान’
तीनै तहको सरकार जोखिम मूल्याङ्कनमा जुट्दै
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
327
Shares
काठमाडौँ । सरकारले वर्षायाममा फैलन सक्ने मनसुनजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि विशेष ‘प्रतिकार्य अभियान’ को तयारी शुरू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनका समयमा विभिन्न सङ्क्रामक रोगको प्रकोप बढ्ने जोखिमलाई मध्यनजर गर्दै यस अभियानको खाका तयार पारेको हो।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार मनसुनको समयमा बढी देखिने डेंगी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता रोगहरूको प्रकोप नियन्त्रण गर्न यो अभियान केन्द्रित रहनेछ। रोगको क्षति न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा जोखिम मूल्याङ्कन गर्ने र सोही स्तरअनुसार तीनै तहबाट प्रतिकार्य प्रणाली कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए। "विगतका वर्षहरूभन्दा अहिले रोग नियन्त्रणमा धेरै प्रगति भएको छ, हाल हामी सचेतना फैलाउन र रोग लाग्नै नदिने विभिन्न उपायहरूमा छलफल गरिरहेका छौँ," डा. भट्टचनले भने।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले रोग लाग्नै नदिनका लागि सर्वसाधारणलाई सचेत गराउन सामाजिक सञ्जालको व्यापक प्रयोग शुरू गरिएको बताइन्। पहिलेको तुलनामा नागरिकमा स्वास्थ्य सचेतना बढेकाले सरुवा रोगको प्रकोप क्रमशः कम हुँदै गएको उनको बुझाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोगको मुख्य स्रोत र जोखिमका कारणहरूलाई शुरूमै रोकथाम गर्नु कम खर्चिलो र बढी प्रभावकारी हुने सुझाव दिए। उनले मनसुनमा विशेष गरी हैजा, झाडापखला र डेंगीको जोखिम उच्च हुने भएकाले खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरे।
त्यसैगरी विभागको कीटजन्य शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्मको अवधि पानीजन्य र कीटजन्य रोगका लागि निकै अनुकूल रहने भएकाले मनसुन शुरू हुनासाथ डेंगीको सङ्क्रमण ह्वात्तै बढ्ने चेतावनी दिए। स्वास्थ्य अधिकारीहरूले यो ४ महिनाको अवधिमा पानी उमालेर मात्र पिउन, खाल्डाखुल्टीमा पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई विशेष अपिल गरेका छन्।