arrow

गणेश नेपाली आत्मदाह घटना छानबिन गर्न समिति बनाइने, परिवारसँग आठ बुँदे सहमति 

मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरले रोजगारी दिने, छोरीलाई उच्च शिक्षा पढाउने र शहीद घोषणा गर्न विगतको अभ्यास, कानून र समितिको प्रतिवेदन हेरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
ganesh-nepali-kathhmandu.jpg

काठमाडौँ । आत्मदाह गरेका मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच आठ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १४ घण्टा लामो वार्तापछि आइतबार साँझ सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच आठ बुँदे सहमति भएको हो । 
    
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेतको उपस्थितिमा पीडित पक्षसँग छलफल भइ सहमति भएको हो । सहमति भएसँगै पीडित पक्ष नेपालीको शव परीक्षण प्रक्रिया अगाडि बढाउन र शव बुझ्न सहमत भएका छन् ।
 
मुगुको सोरु गाउँपालिका–१ जवलधारा घर भएका नेपालीले गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । उक्त घटनालाई लिएर पीडित पक्ष आन्दोलित भएका थिए । 
    
सहमति पत्रमा नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाले मृतक गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
    
सहमतिपत्रमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गरिसक्नुपर्नेछ । 
    
मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै, घटना घटेको दिन उक्त घटनास्थलको अग्रभागमा खटिएका महानगरका प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्वन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले महानगरपालिकालाई लेखी पठाउने र पछि छानबिन आयोगको प्रतिवेदन तथा सिफारिसबमोजिम कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
    
लामो गृहकार्यपछि जुटाइएको सहमतिअनुसार पीडित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गरिएको छ । काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ । 
    
साथै मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट आवश्यक प्रबन्ध मिलाइनेछ भने यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नेछन् । महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाटै निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकमसमेत उपलब्ध गराउनेछ ।
    
त्यस्तै तत्कालका लागि आवश्यक मानवीय र व्यावहारिक पक्षहरूलाई सम्बोधन गर्दै मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजकिरियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइने सहमति भएको छ । 
यससँगै पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोस्टमार्टम) लगायतका कानूनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइएको छ । 

मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौँमा काजकिरिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्धसमेत काठमाडौँ महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ