चार समितिको बैठकमा बजेट, बाल सुधार गृह र नयाँ विधेयकमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
391
Shares
काठमाडौँ । संघीय संसद अन्तर्गतका चारवटा महत्वपूर्ण संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाका तीन र राष्ट्रियसभाको एक समितिको बैठकमा विभिन्न विधेयक, स्थलगत अनुगमन प्रतिवेदन र विकास आयोजनाका प्रगतिबारे छलफल हुने कार्यसूची रहेको छ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान साढे ८ बजेका लागि तय गरिएको छ। बैठकमा राष्ट्रिय योजना आयोगसँग चालु आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको प्रभावकारिता तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित अन्य विकास आयोजनाहरूको प्रगतिको विषयमा विस्तृत छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' माथि दफावार छलफल गरिने कार्यसूची छ। छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिवहरू, कानुन मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपालकुमार चौधरी समेत सहभागी हुनेछन्।
दिउँसो १ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक मा देशका विभिन्न बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थाबारे गम्भीर छलफल हुँदैछ। बैठकमा यसअघि गठन गरिएको निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको स्थलगत प्रतिवेदनमाथि समिति सदस्यहरूबीच छलफल गरिने जनाइएको छ।
यसैगरी, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे डाकिएको छ। उक्त बैठकमा समितिले केही समयअघि मधेश प्रदेशमा गरेको स्थलगत अनुगमन र त्यसपछि तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि दफावार छलफल गरी परिमार्जन गरिने कार्यसूची रहेको छ।