arrow

बाउबाजेको सिको गर्दै कर्मकाण्डमा लागेका पुरोहितहरूलाई शास्त्रीय तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
syangjayagya.jpeg

काठमाडौँ । दाङका धेरै पुरोहितहरू पुस्तौँदेखि परम्परागत रूपमा कर्मकाण्ड गर्दै आए पनि औपचारिक अध्ययन र शास्त्रीय विधिको गहिरो ज्ञानबाट वञ्चित थिए। बाउबाजेले गरेको हेरेर र सुनेर पूजापाठ चलाउँदै आएका उनीहरूका लागि अहिले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको जनता विद्यापीठ बिजौरीले ६ महिने माध्यमिक तहको कर्मकाण्ड तालिम सञ्चालन गरेर नयाँ अवसर जुराइदिएको छ।

यो तालिमले परम्परागत पुरोहितहरूलाई शास्त्रीय ज्ञान र मन्त्रहरूको शुद्ध उच्चारण सिक्ने ठूलो माध्यम प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ निवासी यमराज उपाध्याय लामो समयदेखि पुरोहित कर्ममा संलग्न छन्। सामान्य अध्ययनका आधारमा जजमानी गर्दै आए पनि औपचारिक रूपमा कर्मकाण्ड सिक्न नपाएका उनी अहिले यो तालिममा जोडिएका छन्। "सामान्य अध्ययन त थियो, तर सबै विषयको गहिरो ज्ञान रहेनछ," उपाध्यायले अनुभव सुनाउँदै भने, "वर्षौंदेखि पुरोहित कर्म गर्दै आए पनि अहिले गुरुहरूबाट सिक्दा आफूले गरिरहेका कमीकमजोरी थाहा पाउने र शुद्ध उच्चारण गर्ने अवसर मिलेको छ।"

त्यस्तै, तुलसीपुर–९ दोघरे निवासी ६० वर्षीय गणेश आचार्य पनि २२ वर्षको उमेरदेखि पुरोहित कर्ममा सक्रिय छन्। उनले पनि बाजे र बुबाबाट सिकेको व्यावहारिक ज्ञानकै आधारमा आजसम्म धार्मिक कार्यहरू गराउँदै आएका थिए। "हामीले औपचारिक रूपमा पढेका थिएनौँ, बाउबाजेले गरेको देखेर सिक्यौँ र त्यही परम्परालाई निरन्तरता दियौँ," आचार्यले भने।

अहिले यमराज र गणेश जस्तै समाजमा जन्म, विवाह, मृत्यु तथा अन्य धार्मिक संस्कार सम्पन्न गराउँदै आएका दाङका धेरै परम्परागत पुरोहितहरू यो शैक्षिक तालिममा सहभागी भइरहेका छन्।

जनता विद्यापीठ बिजौरीका प्रशिक्षक बद्रीप्रसाद गौतमका अनुसार गाउँ–गाउँमा पुगेर धार्मिक संस्कार सम्पन्न गराउने पुरोहितहरूको ज्ञानलाई अझ व्यवस्थित, वैज्ञानिक र शास्त्रीय बनाउन यो ६ महिनाको माध्यमिक तहको कर्मकाण्ड पाठ्यक्रम सञ्चालन गरिएको हो। यो पाठ्यक्रम सफलतापूर्वक पूरा गरेपछि सहभागी पुरोहितहरूले माध्यमिक तहको कर्मकाण्ड विषयको औपचारिक प्रमाणपत्र समेत प्राप्त गर्नेछन्, जसले उनीहरूको कार्यसम्पादनलाई समाजमा अझ बढी मर्यादित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ