बाढी र लेदोका कारण रसुवागढी जलविद्युत् आयोजना बन्द
भन्सार यार्डका सवारीसाधन सुरक्षित स्थानमा सारिए
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
177
Shares
काठमाडौँ । रसुवाको ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको छ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार बाढीका कारण आयोजनामा हुन सक्ने सम्भावित क्षति र जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि नै विद्युत् उत्पादन रोकिएको हो। गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको भीषण बाढीले आयोजनाको बाँध (ड्याम) सहित विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। लामो समयको मर्मत तथा पुनर्निर्माणपछि सञ्चालनमा आएको आयोजनामा पुनः क्षति नपुगोस् भन्नका लागि सुरुङतर्फ पानी लैजाने गेट (फ्लसिङ गेट) बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहावको निरन्तर अनुगमन भइरहेको छ र नदीको अवस्था सामान्य एवं सुरक्षित देखिएमा आजै (सोमबार) देखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने तयारी छ।
ल्हेन्दे खोलासँगै भोटेकोशी नदीमा पनि पानीको बहाव उच्च हुन थालेपछि रसुवागढी भन्सार यार्डमा पार्किङ गरी राखिएका मालवाहक ट्रक तथा नयाँ आयातित सवारीसाधनहरूलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र बलियो तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिसँग चालकहरूले माग गरेका छन्। गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास सर्वसाधारणलाई नजान र सवारीसाधन नदी किनारमा नलगाउन आग्रह गरेका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन। मैलुङ सडकखण्ड जोखिममा परेकाले चीनको केरुङतर्फ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको पासाङ ल्हामु राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले लगातारको वर्षाका कारण नदी तथा खोल्साहरूमा पानीको बहाव बढिरहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्। प्रशासनले कतै पनि विपद्को अवस्था देखिएमा उद्धार तथा राहतका लागि सरकारी आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराउन अपिल गरेको छ।