काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई केवल राज्यको दायित्व नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरणमामात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै उनले भाषा र साहित्यलाई समयअनुकूल समृद्ध बनाउनु आजको आवश्यकता भएको उल्लेख गरे।
काठमाडौँमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र तीव्र सामाजिक परिवर्तनका बीच नेपाली भाषा, संस्कृति र मौलिक पहिचान जोगाउनु चुनौतीपूर्ण बन्दै गएको बताए।
उनले भानुभक्तले स्थापित गरेको सरल, स्पष्ट र जनमुखी साहित्यिक परम्परा आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसलाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
सभामुख अर्यालले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न सिर्जनशीलता, नवप्रवर्तन र आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
भानुभक्तका आदर्शलाई समयानुकूल रूपमा रूपान्तरण गर्दै अघि बढ्न सके नेपाली भाषा र साहित्यको भविष्य अझ सुदृढ हुने उनको विश्वास थियो।
उनले भानुभक्तको सम्मानमा गरिने प्रत्येक प्रयास नेपाली राष्ट्रियता, मौलिकता र सांस्कृतिक पहिचानको संरक्षणसँग जोडिएको उल्लेख गर्दै भाषा केवल सञ्चारको माध्यममात्र नभई राष्ट्रको आत्मा र पहिचान भएको बताए।
कार्यक्रममा सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा तथा संस्कृतिविद् डा. आना एम. सिस्टरलाई सम्मान गरेका थिए।
समारोहमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै नेपाली भाषा र साहित्यको संरक्षणमा सबै क्षेत्रको साझा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।