मेरो घर अगाडि गाडी राखेर गेट होइन मुख थुन्न खोजिएको हो : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
288
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निवाससहित विभिन्न सञ्चारमाध्यम र व्यापारिक प्रतिष्ठान अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसले प्रश्न गर्ने आवाजलाई तर्साउने प्रयास भएको आरोप लगाएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफ्नो निवास अगाडि राखिएको गाडी सामान्य घटना नभएको दाबी गरे।
स्थानीयका अनुसार बिहान गाडी पार्किङ गरेपछि सम्बन्धित व्यक्ति प्रशासनको गाडी चढेर गएको जानकारी आफूले पाएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।
सोमबार बिहान साढे ७ बजे रातोपुलस्थित सभापति थापाको निवास अगाडि बएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको थियो । उक्त गाडीलाई क्रेनको मद्धतले प्रहरीले उठाएको छ ।
"आज मेरो घरअगाडि गाडी राखिएको होइन, मेरो मुख थुन्न खोजिएको हो। प्रश्न गर्नेहरूलाई खबरदार भन्ने शैलीमा तर्साउने प्रयास गरिएको छ," थापाले भने।
उनले स्थानीयले पटकपटक प्रशासनलाई जानकारी गराउँदा पनि आवश्यक चासो नदिइएको दाबी गर्दै घटनाप्रति सरकार नै जिम्मेवार भएको आरोप लगाए। "यो कसले गरेको हो भन्ने प्रश्नको उत्तर सरकार आफैंले दिनुपर्छ," उनले भने।
थापाले लोकतान्त्रिक समाजमा नागरिकको प्रश्न गर्ने अधिकार कुनै पनि हालतमा खोस्न नसकिने स्पष्ट पार्दै नेपाली कांग्रेसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहने बताए।
उनले विगतमा पनि आफ्नो घर रहेको गल्लीबाट प्रहरी, सेना र विभिन्न राज्य संयन्त्रका गतिविधि देखेको स्मरण गर्दै यस्ता दबाबपूर्ण शैलीले आफूहरू विचलित नहुने बताए।
"हाम्रो हक कसैले खोस्न सक्दैन, हाम्रो हिम्मत पनि कसैले खोस्न सक्दैन," उनले भने, "प्रश्न गर्ने समाज निर्माण गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो।"
थापाले नेपाली कांग्रेसको स्थापना नै निरंकुश शासनविरुद्ध नागरिकको बोल्ने र प्रश्न गर्ने अधिकारको रक्षा गर्न भएको स्मरण गर्दै अहिले पनि त्यही मूल्य र मान्यताका लागि पार्टी दृढतापूर्वक उभिएको बताए।
उनले सरकारलाई लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको सम्मान गर्न आग्रह गरे।
आज विभिन्न मिडिया हाउससँगै व्यक्तिका घर अगाडि बस पार्किङ गरी अवरोध गरिएको थियो ।