जलवीरेमा पुनः पहिरो, मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
203
Shares
चितवन। अविरल वर्षासँगै गएको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार बिहान ६ः३० बजे सूचना जारी गर्दै लगातारको वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकको निर्णयअनुसार उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
सोमबार साँझदेखि सडकका विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो। अवरोधका कारण सडकखण्डमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई रातिसम्म पहिरो हटाएर गन्तव्यतर्फ पठाइएको प्रशासनले जनाएको छ।
मंगलबार बिहान पुनः जलवीरे नजिक पहिरो खसेको छ भने अन्य स्थानमा खसेका पहिरो र लेदो हटाउन सम्बन्धित निकायले डोजर तथा अन्य उपकरण परिचालन गरिसकेको जनाएको छ।
प्रशासनले यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।