arrow

शहीद गौतमको अन्त्येष्टिमा हजारौंको थामिएन मन

गौरीफन्टा नाकामा मलामीले शवयात्रा नै राेकेर गरे भारत विरुद्ध चर्को प्रदर्शन

logo
र्इश्वरदत्त बडू / दिपेन्द्र बस्नेत,
प्रकाशित २०७३ फागुन २९ आइतबार
gautam_sab_yatra.jpeg
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आइतबार अन्त्येष्टि गरिएको छ । गत विहीबार नेपाल भारत सीमामा पर्ने आनन्दबजारमा कल्भर्ट निर्माणको विषयमा विवाद बढेपछि भारतीय प्रहरीको गोलीलागी गौतमको निधन भएको थियो । तीनदिने चर्काे आन्दोलनपछि आईतबार निश्चित भएको उनको अन्त्येष्टिकालागि विभिन्न स्थानबाट हजारौं नेपालीले स्वतःस्फूर्त सहभागीता जनाएका थिए ।  
 
गौतमको शवलाई धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदानदीमा पुर्याएर अन्त्येष्टि गरिएको थियो । उनको पार्थीव शरीरमा उनका ७२ वर्षीय पिता खेमलाल गौतमले दागबत्ति दिएका थिए । उनको दागवत्ति दिने समयमा उनकी बर्ष ६६ की आमा हरिदेवी गौतम, २७ वर्षकी धर्मपत्नी सुशीला  गौतम, नाबालिका छोरीहरु आशिका, आकृति र आसुम गौतमलार्इ पनि अन्त्येष्टि स्थलमा पुर्याईएको थियो । 
 
उता, उनको शवयात्रामा गएका मलामीहरुले नेपाल भारतको सुदूरपश्चिममा पर्ने सबैभन्दा ठूलो गौरीफन्टा नाकामा पुगेपछि चर्काे स्वरमा भारतीय विस्तारवाद मूर्दावाद जस्ता शब्दहरुले नारा लगाएका थिए । उनीहरुले आधा घण्टासम्म शबयात्रा नै रोकेर भारतविरोधी नारा लगाएका थिए । त्यसपछि भने उनीहरु दोदा नदीतर्फ गएका थिए । 
 
सीमाविवादमा विदेशीबाट मारिएका गौतमलाई दागवत्ति दिँदै गर्दा उनका हजारौं समर्थक सहित उनको सलामीका लागि उभिएका नेपाल प्रहरीका जवानहरुको पनि कतिपयको आँखामा आँशु देखिन्थ्यो । त्यहाँ आएका कैयौंले डाको छाडेर रोएका थिए भने रुन नसकेकाहरुको अनुहारले पनि मन थाम्न सकेको देखाएको थिएन । 
 
प्रहरीले उनलाई ११ तोपको सलामी दिएको छ । सरकारले गौतमलाई शहीद घोषणा गरिसकेकोले उनलाई सलामी दिईएको हो । बैदेशिक रोजगारीको लागि विदेश गएर फर्किएका गौतम फेरि पनि विदेश जाने तर्खरमा थिए । उनका छोरीहरु क्रमश १० वर्ष ७ वर्ष र २ वर्षका छन् । 
 
सरकारले उनको छोराछोरीलाई निशुल्क पढाईदिने त भनेको छ । उनकी श्रीमती सुशीलालाई पनि नगरपालिकामा क्षमता अनुसारको जागिर दिने सहमति सर्वदलीय बैठकले शनिबार मात्रै गरेको छ । तर, आर्थिक रुपमा राज्यले ती नानीहरुको लागि जोहो गरेको भएपछि यी तीन छोरीहरुले कहिलै पनि आफ्नो बाबुको असीम माया पाउने छैनन् । त्यो कुरा नजानेरै भएपनि आफ्नो बाबुको अन्तिम संस्कार गरिँदैगर्दा उनकी दुई वर्षीय छोरी आसुम गौतमले पनि बाबुको मृत शरीरमाथि अन्तिम पटक आँखा गाढेर हेर्न नसकी फर्किको दृष्यले देखेका त्यहाँ उपस्थित कसैले पनि मन थाम्न सकेका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ