तोकियो नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय, रायमाझीलाई चार वर्ष र खाँडलाई दुई वर्ष कैद
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
117
Shares
तस्बिर : फाइल
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय तोकिएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । काठमाडौँ जिल्ला अदालतले मंगलबार चार वर्ष कैद सजाय र रु ४० हजार जरिबाना तोकेको हो ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दुई वर्ष कैद सजाय र रु २० हजार जरिबाना तोकेको छ । उनीहरूलाई सरकारी लिखत कीर्ते कसूर, ठगी र सङ्गठित अपराधमा सो सजाय तोकिएको हो ।
सोही मुद्दामा सरकारी लिखत कीर्ते कसूर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र रु २० हजार जरिवाना तोकिएको छ । यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद तथा रु ४० हजार जरिबाना तोकिएको छ ।
यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिबाना तोकिएको छ ।
गत असार २३ गते अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो । न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त मुद्दामा कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको थियो ।
मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीले पाए सफाइ पाएका हुन् । फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।
अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी फरार छन् । उनीहरू पक्राउ परेपछि कानून अनुसार हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।