शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका युवा गम्भीर, काठमाडौँ रिफर
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
332
Shares
तस्बिर फाइल
काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। केही समयदेखि मानसिक तनाव तथा डिप्रेसनबाट पीडित सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर मङ्गलबार राति आत्मदाहको प्रयास गरेको गरुडा नगरपालिका–९ का वडाध्यक्ष राजेश सहनीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घाइते सहनीको घाँटीभन्दा मुनिको करिब ३५ प्रतिशत भाग जलेको छ। स्थानीय चिकित्सकको सल्लाहबमोजिम उनलाई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ। घाइते युवा डिप्रेसनको समस्यामा रहेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले बताए।
युवाका परिवारका सदस्यहरूले शरीरमा आगो लगाएको थाहा पाउनासाथ उनलाई उपचारका लागि राति नै गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचार गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
वडाध्यक्ष सहनीका अनुसार घाइते युवा श्रीमती र तीन छोराका साथ गरुडा बजारस्थित झाझ पुलनजिकै छाप्रे होटल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका थिए।