arrow

के अर्जेन्टिना फिफाको कारबाहीमा पर्ला ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
wcf-2026-semifinal-argentina-win-.jpg

काठमाडौँ । विश्वकप फुटबलको सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको छ ।

द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोले ‘माल्भिनास अर्थात् फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ । 

जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो । लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केहीबेर समातेका थिए भने पछि मैदानमै राखेका थिए । उक्त टापुमाथिको सार्वभौमिकताको विषयमा अर्जेन्टिना र बेलायतबीच दशकौँदेखि विवाद रहँदै आएको छ ।

अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड र फिफाको नियमअनुसार खेलका क्रममा वा त्यससँग सम्बन्धित गतिविधिमा राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश, नारा, झण्डा वा प्रतीक प्रदर्शन गर्न पाइँदैन । नियम उल्लङ्घन भएमा सम्बन्धित खेलाडी, टोली वा राष्ट्रिय फुटबल संघलाई प्रतियोगिता आयोजक वा फिफाले कारबाही गर्न सक्ने व्यवस्था छ ।

सन् १९८२ मा फकल्याण्ड टापुको नियन्त्रणलाई लिएर बेलायत र अर्जेन्टिनाबीच युद्ध भएको थियो । करिब दुई महिनासम्म चलेको उक्त युद्धमा बेलायत विजयी भएको थियो भने दुवै पक्षका सयौँ सैनिकको ज्यान गएको थियो ।

यसैबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जाल एक्समार्फत ‘फकल्याण्ड अर्जेन्टिनाकै हो । उनीहरूले ब्यानर स्टेडियममा लैजान रोक लगाए, तर त्यो हाम्रो रगत र हृदयमा छ’ भन्दै लो सेल्सोको समर्थन गरेकी छिन् ।

उता खेलमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इङ्गल्याण्डलाई २–१ ले हराएर फाइनलमा स्थान सुरक्षित गरेको छ । इङ्गल्याण्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिए पनि अर्जेन्टिनाका एन्जो फर्नान्डेजले कप्तान लियोनल मेस्सीको पासमा ८५औँ मिनेटमा बराबरी गोल फर्काए ।

इन्जुरी समयको दोस्रो मिनेटमा फेरि पनि मेस्सीकै उत्कृष्ट क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए । अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इङ्गल्याण्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ