चितवनमा एक वर्षमा २७४ जनामा डेंगी सङ्क्रमण, सबैभन्दा बढी रत्ननगरमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
109
Shares
काठमाडौँ । चितवन जिल्लामा गत एक वर्षको अवधिमा २७४ जनामा डेंगी रोगको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कुल १० हजार ५२३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण फेला परेको हो।
सङ्क्रमितमध्ये २१६ जना चितवनकै रैथाने बासिन्दा हुन् भने बाँकी ५८ जना उपचारका लागि अन्य जिल्लाबाट आएका हुन्। जिल्लाभित्र सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेंगी देखिएको छ भने भरतपुर महानगरपालिकामा ५६, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा २१, कालिका नगरपालिकामा ११, माडी नगरपालिकामा ३ र इच्छाकामना गाउँपालिकामा ३ जनामा सङ्क्रमण देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो सङ्ख्यामा निकै गिरावट आएको हो, जतिबेला १७ हजार ३५३ जनाको परीक्षण गर्दा तीन हजार ८८९ जनामा डेंगी देखिएको थियो र सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको थियो।
वर्षा हुने र घाम लाग्ने क्रम चलिरहँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ र असोज महिनामा डेंगीको प्रकोप बढी देखिने गरेको चिकित्सकहरू बताउँछन्। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने गर्दछ। यसले घरवरिपरि फालिएका प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा टायर, गमला, कुलर तथा खुला ट्याङ्कीमा जम्मा भएको सफा पानीमा फुल पार्ने गर्छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार डेंगी लागेमा उच्च ज्वरो आउने, शरीरमा बिबिरा देखिने, आँखाको गेडी, टाउको, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने र नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षणहरू देखापर्छन्। डेंगी ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै भएकाले आफ्नो घर र कार्यस्थल वरिपरि पानी जम्न नदिने, खाली बट्टा, पुराना टायर र ड्रम आदिमा पानी जम्मा हुन नदिई सफा राख्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।