arrow

मनसुनको प्रभाव कायमै

देशभर वर्षाको सम्भावना: सतर्क रहन महाशाखाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने सम्भावना छ।

हाल देशभर साधारणतया बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका धेरै स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ। साथै हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर साधारणतया बदली नै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका साथै कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। वर्षा र प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ