काठमाडौँ । जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ। गत अक्टोबरमा सत्तामा आएयता बिहीबार सार्वजनिक भएको एक सर्वेक्षणले ताकाइची सरकारप्रतिको जनसमर्थनमा निकै गिरावट आएको देखाएको हो।
जिजी प्रेसले गरेको पछिल्लो सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति समर्थन गर्नेहरूको सङ्ख्या ४९ प्रतिशत मात्र देखिएको छ। सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६० देखि ७० वर्ष उमेर समूहका जेष्ठ मतदाताहरूमा देखिएको छ। यो उमेर समूहमा गत महिना ६३.७ प्रतिशत रहेको समर्थन अहिले ह्वात्तै घटेर ३९.९ प्रतिशतमा झरेको छ।
प्रधानमन्त्री ताकाइचीका समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र कूटनीतिक विश्वसनीयतालाई समर्थनको मुख्य कारण मानिरहेका छन्। अर्कातर्फ, सरकारप्रति असन्तुष्ट रहेका नागरिकहरूले भने अहिलेको सङ्क्रमणकालीन अवस्थामा सरकारबाट ‘धेरै आशा गर्न नसकिने’ र सरकारले ल्याएका ‘कमजोर नीतिहरू’ का कारण लोकप्रियता घटेको बताएका छन्।
यसअघि फेब्रुअरीमा भएको तल्लो सदनको आकस्मिक निर्वाचनमा ठूलो जित हासिल गर्दै ताकाइचीले आफ्नो सत्ताआधारलाई थप मजबुत बनाएकी थिइन्। विशेषगरी युवा मतदाताहरूमा उनको कूटनीतिक कौशल, सरल स्वभाव र परिवर्तनको प्रतीकका रूपमा लोकप्रियता निकै बढेको थियो।
तर, गत नोभेम्बरमा ताइवानमाथि कुनै आक्रमण भए जापानले सैन्य हस्तक्षेप गर्न सक्ने भनी उनले सार्वजनिक गरेको धारणा अहिले चीनसँगको सम्बन्धमा ठूलो समस्या बनेको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएकाले ताकाइचीको उक्त अभिव्यक्ति विवादित बनेको थियो। यसै महिनाको सुरुतिर राष्ट्रिय झण्डाको अपमानलाई अपराध मान्ने विधेयकको विरोध गर्दै करिब १५० जापानी विद्वान् तथा प्राध्यापकहरूले सांसदहरूविरूद्ध याचिकासमेत दायर गरेका थिए।
यद्यपि, ताकाइचीको पक्षमा रहेको सबैभन्दा बलियो पक्ष भनेको हालका महिनाहरूमा मुद्रास्फीति (मूल्यवृद्धि) मा आएको सुधार हो। यसअघि तीव्र मूल्यवृद्धिकै कारण उनका दुई पूर्ववर्ती प्रधानमन्त्रीहरूको सरकारले छोटो समयमै बिदा हुनुपरेको थियो।