देशभरका राजमार्ग प्रभावित, बीपी र कान्तिमा राति सवारी बन्द
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
336
Shares
काठमाडौँ। लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएपछि देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले केही सडक पूर्ण रूपमा बन्द गरेको छ भने केही राजमार्गमा रातिको समयमा मात्रै सवारी आवागमनमा रोक लगाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने जनाइएको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था कायम रहनेछ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण सडक जोखिमपूर्ण बनेपछि बेलुका ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यता, इलाम नगरपालिका-९ राजदूवालीस्थित मेची राजमार्ग हिलाम्मे बनेपछि पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडकखण्ड, सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीस्थित अरनिको राजमार्ग, तथा बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोरमा पहिरो र ढुङ्गा खसेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेरमात्रै यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।