arrow

देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
kulman-ghisin.jpg

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको वर्तमान राजनीतिक परिस्थितिका कारण मुलुक पुनः ठूलो द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका व्यक्त गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।

उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले वर्तमान सरकार र राजनीतिक दलहरूको भूमिकाका कारण देशमा संकटपूर्ण अवस्था सिर्जना हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले लामो समयको राजनीतिक द्वन्द्वबाट गुज्रिएको नेपाल फेरि अर्को झन् ठूलो द्वन्द्वमा फस्ने खतरा महसुस भइरहेको उल्लेख गरे।

भेलामा बोल्दै अध्यक्ष घिसिङले भने, “आज जुन हिसाबले देशमा सरकार र राजनीतिक पार्टीहरूले अहिलेको परिस्थितिमा विभिन्न किसिमको अवस्था सिर्जना गरेका छन्, यसरी करिब तीन–चार महिना पुग्न लाग्यो। तर चार महिनाकै अवधिमा यो देशमा एक किसिमको द्वन्द्व सिर्जना हुने अवस्थामा पुग्न लागेको हो कि भन्ने शंका लागेको छ। यसमा सरकार अत्यन्त गम्भीर भएर लाग्नुपर्नेछ। सम्बन्धित सबै पार्टीहरू पनि यो देशलाई द्वन्द्वबाट बाहिर ल्याउन लाग्नुपर्छ। फेरि झन् ठूलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको हो कि भन्ने हामीले महसुस गरेका छौं।”

अध्यक्ष घिसिङले देशमा यस्तो गम्भीर परिस्थिति निर्माण हुनुमा सरकारको सबैभन्दा ठूलो जिम्मेवारी रहने दाबी गरे। जनताले सबैभन्दा ठूलो बहुमत र विश्वास दिएर पठाएको दुई तिहाइको सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागहरूलाई सम्बोधन गर्न जिम्मेवार ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो।

विगत तीन–चार महिनाकै छोटो अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना हुनुले देशको वर्तमान अवस्था निकै गम्भीर मोडमा पुगेको सङ्केत गरेको उनले स्पष्ट पारे।

यसै भेलाका क्रममा अध्यक्ष घिसिङले देशव्यापी रूपमा संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए। आगामी तीन महिनाभित्र देशभर तीन लाख नयाँ सदस्यता वितरण गर्ने लक्ष्यसहित डिजिटल माध्यम र गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ