काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । मध्यपूर्वको द्वन्द्वको प्रभाव मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ।
गत सातादेखि अमेरिका र इरानबीच टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो। अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि र इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि तनाव अझ बढेको छ।
अन्तरराष्ट्रिय मापदण्डको ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो। सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ। यस भू–राजनीतिक तनावले मुद्रास्फीति पुनः बढ्न सक्ने र केन्द्रीय बैङ्कहरूको ब्याजदर कटौतीको योजनामा असर पर्न सक्ने चिन्ता लगानीकर्ताहरूमा बढाएको छ।
एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसका अनुसार बजारले एकैपटक दुई विपरीत अवस्थाको सामना गरिरहेको छ। एकातिर भू–राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएको र श्रम बजार नरम बन्दै गएकाले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना भने कम देखिन्छ। यद्यपि तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले घरायसी खर्च घटाउन र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ।
एसियाली सेयर बजारमा सोमबार मिश्रित कारोबार भयो। चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्वजनिक गर्ने अपेक्षाले हङकङ र साङ्घाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ, जहाँ हङकङको सूचकाङ्क दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकाङ्क एक दशमलव ३२ प्रतिशतले उकालो लागेको छ भने ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढेका छन्। यता, गत शुक्रबार वाल स्ट्रिटका तीनवटै प्रमुख सूचकाङ्क गिरावटमा बन्द भएपछि सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने लगानीकर्ताहरूले सावधानी अपनाएका छन्।
यसैबीच, भू–राजनीतिक तनावका बाबजुद अन्तरराष्ट्रिय बजारमा सुरक्षित लगानीका रूपमा हेरिने सुनको मूल्य शून्य दशमलव ४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य एक प्रतिशतले बढेको छ।