पशुपतिनाथमा धार्मिक जागरण अभियान, ३० लाखभन्दा बढी भक्तजन आउने अनुमान
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
418
Shares
काठमाडौँ। पशुपतिनाथ धार्मिक महामहोत्सव २०८३ सोमबारदेखि शुरू भएको छ। साउन २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा शिव नाम संकीर्तन, भजन, कीर्तन, नाचगान तथा आध्यात्मिक प्रवचनलगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
महोत्सवका संकल्पकर्ता राजानन्द माण्डव्यका अनुसार वैदिक सनातन धर्मप्रति भक्तजनलाई जागृत गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। बृहस्पति अस्त भएका कारण विशेष यज्ञ तथा अनुष्ठान गर्न नमिल्ने अवधिलाई धार्मिक जागरणका रूपमा उपयोग गर्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
उनका अनुसार श्रावण महिना भगवान् शिवको विशेष महिना भएकाले यस अवधिमा पशुपतिनाथमा भक्तजनको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
महोत्सव अवधिभर ३० लाखभन्दा बढी नेपाली भक्तजनले प्रत्यक्ष दर्शन गर्ने र भारतीय तथा अन्य विदेशी भक्तजनसमेत सहभागी हुँदा कुल भक्तजनको संख्या ५० लाख हाराहारी पुग्न सक्ने अनुमान आयोजकको छ।
माण्डव्यले नेपालमै कैलाश धाम निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको जानकारी दिए। तिब्बतस्थित कैलाश मानसरोवर पुग्न धेरै समय र ठूलो खर्च लाग्ने भएकाले नेपालमै धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा कैलाश धाम निर्माण गर्न पहल भइरहेको उनले बताए।
उनका अनुसार बनेपा नगरपालिकाले सरकारी जग्गा उपलब्ध गराए भक्तजनको सहयोगमा करिब १५ देखि २० करोड रुपैयाँको लागतमा कैलाश धाम निर्माण गर्ने योजना छ। यसबाट पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनले करिब २५ किलोमिटर दूरीमा रहने कैलाश धामको समेत दर्शन गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।
महोत्सवलाई आर्थिक संकलनसँग जोडेर आलोचना गरिए पनि यज्ञ तथा धार्मिक कार्यक्रमको उद्देश्य पैसा उठाउनु नभएको माण्डव्यको भनाइ छ। उनले यज्ञ सञ्चालनका लागि आवश्यक खर्च भक्तजनको सहयोगबाट जुटाइने र बाँकी रकम कैलाश धाम निर्माणमा खर्च गरिने बताए।
धार्मिक पर्यटन र सनातन संस्कृतिको संरक्षणका लागि यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्दै उनले साँगाको शिव मूर्ति र पोखराको पुम्दीकोटलाई धार्मिक पर्यटनका सफल उदाहरणका रूपमा प्रस्तुत गरे। कैलाश धाम निर्माणले पनि धार्मिक तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उनको विश्वास छ।
आयोजकका अनुसार महोत्सवमा सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।
साउन २७ गतेसम्म धार्मिक कार्यक्रम सञ्चालन भएपछि बृहस्पति उदयसँगै साउन २७ देखि ३१ गतेसम्म लिङ्ग पुराण वाचन गरिनेछ।
साथै, साउन ३० गते पर्ने बराह जयन्तीका अवसरमा विशेष कार्यक्रमसहित सवा करोड दीप प्रज्वलन गर्ने लक्ष्य राखिएको छ। सो कार्यक्रममा इच्छुक भक्तजनलाई कर्ताका रूपमा सहभागी हुन आयोजकले आह्वान गरेको छ।