रौतहट। बाराको सुवर्ण गाउँपालिका-७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको ज्यान गएको छ।
मृतक महागढीमाई नगरपालिका-९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो रहेको प्रहरीले जनाएको छ। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। परिवारका सदस्यले तत्काल उनलाई पानीबाट बाहिर निकाले पनि ज्यान बचाउन सकेनन्।
घटनाको जानकारी साँझ करिब ६ः१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा पुगेपछि असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का तथा फरेन्सिक टोलीसहितको प्रहरी टोली परिचालन गरी घटनास्थलको अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।