यसरी तयार हुँदैछ पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
346
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा यहाँ ११ ‘ए’ साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको हो ।
मैदानमा कार्पेट बिछ्याउने काम सकिएको र बालुवा भर्न बाँकी रहेको महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालले बताए । बालुवा भर्नेसहित मैदान स्तरोन्नतिको सबै काम सकिन अझै दुई महिना समय लाग्ने उनको भनाइ छ । ‘कार्पेटमाथि बालुवा राख्नुपर्छ । चिसो मौसममा बालुवा राख्दा समय लाग्छ,’ उनले भने, ‘मंसिरसम्म सक्नुपर्ने भन्ने सम्झौता छ । अब धेरैमा दुई महिनामा सकिन्छ ।’
उनकाअनुसार मैदानमा पानी जम्न नदिन, टिकाउ बनाउन र खेल खेल्दा सहज होस् भनेर बालुवाको प्रयोग गरिन्छ । कृत्रिम घाँस प्लास्टिकका फाइबरबाट बनेको हुन्छ । त्यसैले बालुवा हालेर ती फाइबरलाई ठाडो र स्थिर राखिन्छ । यसले घाँस चाउरिन वा उखेलिन दिँदैन ।
बालुवाले मैदानलाई नरम बनाउने भएकाले खेलाडी दौडँदा वा लड्दा चोट लाग्ने जोखिम कम हुन्छ । यसले बलको गति र उफ्राइलाई पनि प्राकृतिक घाँसजस्तै बनाउँछ । यसबाहेक वर्षाको पानी छिटो निकास हुने भएकाले मैदानमा पानी जम्दैन र खेल सञ्चालन गर्न सहज हुन्छ । पानी जम्न र मैदान बिग्रन नदिन ड्रेन (नाली) र हिँड्नका लागि छेउमा फुट ट्रयाक निर्माण गरिने इन्जिनियर अर्यालले बताए ।
धुलाम्मे र अव्यवस्थित रहेको मैदानलाई कृत्रिम घाँस प्रयोग गरेर व्यवस्थित बनाउने उद्देश्यले महानगरपालिकाले आ.व. २०८१/८२ मा प्रक्रिया अघि बढाएको थियो । यस अन्तर्गत पेप्सीकोलासहित काठमाडौँका ६ ठाउँमा घाँसे मैदान निर्माण थालिएको थियो ।
बाँसबारी, नयाँबजारको सोसल ग्राउण्ड, बल्खुको बागमती करिडोर, चाबहिलको गणेशस्थानमा एउटै ठेक्काअन्तर्गत घाँसे मैदान निर्माणको काम भइरहेको छ । यी ६ ओटै मैदान स्तरोन्नति तथा निर्माणको ठेक्का जेएसएस/एसएम जेभी ज्ञानेश्वरले ६ करोड ८० लाख रुपैयाँमा लिएको थियो ।