काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशमा जारी वर्षा बुधबारदेखि क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका विभिन्न भूभागमा वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आज र भोलि देशका विभिन्न स्थानमा वर्षा जारी रहे पनि आगामी बुधबारदेखि भने वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो देशका हिमाली भूभागका केही र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले बाढीपहिरो, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले विशेष आग्रह गरेको छ।