कांग्रेससँग सत्ता सहकार्य टुटे एमाले प्रतिपक्षमा बस्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ५ मंगलबार
353
Shares
काठमाडौँ। नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भए एमाले नयाँ गठबन्धन खोजेर सरकारमा नजाने स्पष्ट पारेका छन्। उनले सरकार टिक्न नसके एमाले प्रतिपक्षमा बस्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा तामाङले कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको मुख्य कारण कांग्रेसभित्रको आन्तरिक विवाद भएको दाबी गरे।
उनले कांग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने रहेको बताए।
तामाङले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने स्पष्ट पार्दै वर्तमान सरकार जोगाउन पहल गर्ने, तर सरकार टिक्न नसके सत्ता बाहिर बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।
उनले वर्तमान गठबन्धन भत्किए प्रदेशमा एमालेबाहेकका दलहरूको सरकार बन्न सक्ने सम्भावना पनि औँल्याए।
हाल सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा कांग्रेसका सांसदहरूले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि कांग्रेस-एमालेबीचको सत्ता सहकार्य अन्योलमा परेको छ।