arrow

विदेशको गोप्य भूमिबाट कांग्रेस पूर्व सभापति देउवाको चेतावनीः लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
sherbahadur-deuba-82-12-25-repost.jpg

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व रहेको बताएका छन् । 

जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको बीपीले अघि सारेको मार्ग आज पनि नेपालको राजनीतिक यात्राको प्रमुख मार्गदर्शक रहेको बताए ।

उनले भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको उहाँको अटल विश्वास र विचार आज पनि हाम्रो राजनीतिक यात्राको मार्गदर्शक बनेको छ।’ 

बीपी कोइरालाको नेतृत्वमा राजनीतिक यात्रा सुरु गर्नु आफ्नो जीवनकै ठूलो सौभाग्य भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक संस्कार, जिम्मेवारी र विश्वासले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई दिशा दिएको बताए ।

उनले छ दशकभन्दा बढीको राजनीतिक यात्रामा जेल, प्रतिबन्ध, दमन र कठिन परिस्थितिबीच पनि लोकतन्त्र, संविधानवाद र जनअधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाएको दाबी गरे ।

उनले भने, ‘मैले विगत छ दशकभन्दा बढी समय नेपाली कांग्रेसको एउटा साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएँ । जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेक कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा मेरो अडान कहिल्यै परिवर्तन भएन। किनकि मेरो विश्वास सधैं एउटै रह्यो प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प हुँदैन, र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति हुँदैन ।’

उनले बीपीको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

साथै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनताको सर्वोच्चताको पक्षमा बिपीले देखाएको मार्ग अहिले पनि सान्दर्भिक र प्रेरणादायी रहेको उनको भनाइ छ ।

स्वास्थ्य उपचारका क्रममा परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको बताउँदै देउवाले नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरे । उनले बीपीको स्मृतिप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे।

उनी गत फागुनदेखि विदेशमा छन् । बिमार भएको भन्दै उपचारका लागि गएको भनिए पनि उनी अहिले कहाँ छन् भनेर खुलाइएको छैन । 

उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ । उनले छिट्टै नेपाल फर्कने बताए पनि साइत खुलाएका छैनन् । 

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा उनीमाथि आक्रमण भएको थियो । उनले गत फागुन २१ गतेको निर्वाचनमा पनि सहभागिता जनाएनन् । 

उनले मतदानका लागि अपीलसमेत गरेनन् । उनले पार्टीको महाधिवेशन नगराएपछि विशेष महाधिवेशन गरी गगनकुमार थापाको नेतृत्वमा अहिले कांग्रेस अगाडि बढिरहेको छ । 

देउवा समूह भने पाए आफूले पार्टी कार्यालयमा कब्जा गर्ने र नपाए पार्टी फुटाउने तर्खर गरिरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ