arrow

कमल थापालाई सरकारमा ल्याउनुको औचित्यबारे काँग्रेसमा गम्भीर छलफल

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
nepali-congress-flag.jpg.jpeg
काठमाडौं। काँग्रेस बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा ल्याउनुको औचित्यबारे गम्भीर छलफल भएको छ । सभापति शेरबहादुर देउवाले डाकेको पदाधिकारीहरुको बैठकका सहभागीहरुले थापालाई सरकारमा ल्याउनुको औचित्यबारे गम्भीर छलफल भएको हो । 
 
बैठकमा सहभागी भएका तराई मधेशका नेताहरुले संविधान संशोधन प्रस्तावलाई पारित गराएर मधेशी मोर्चालाई पनि निर्वाचनमा लैजानुपर्नेमा जोड दिएका छन् । उनीहरुले संसद्मा दर्ता गराईएको संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि नेपाली काँग्रेसले नै समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । 
 
बैठकमा राप्रपाका अध्यक्ष थापाले सार्वजनिक रुपमै संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको विषयमा छलफल भएको थियो । संविधान संशोधनको विपक्षमा मतदान गर्ने हो भने उनलाई सरकारमा ल्याउनुको औचित्य के हो भन्दै सहभागिहरुले सभापतिसँग प्रश्न गरेका थिए । सत्ता गठबन्धनका दलले नै सहयोग नगरेको खण्डमा संशोधन प्रस्ताव पारित हुन सम्भव नरहेको भन्दै थापालाई सरकारमा ल्याएर पनि संशोधनमा सहयोग मिल्दैन भने उनलाई ल्याउनुको औचित्य कसरी पुष्टी हुने उनीहरुले सोधेका थिए । 
 
बैठकमा सहभागी नेता फरमुल्लाह मन्सुरले संविधान संशोधन पारित गराएर मधेशी मोर्चालाई लिएर मात्रै स्थानीय निर्वाचनको घोषणा गरिनुपर्ने विषयमा बैठकमा छलफल भएको बताए । मधेशीहरुलाई नेपाली नै होईन भन्ने, मधेशी मरे एउटा आँप खस्यो भन्ने जस्ता केपी ओलीको गैर जिम्मेवार भाषणका कारण नै मधेशी जनताहरुले आफूलाई हेपिएको महशुस गरिएको भन्दै संशोधन गरी मधेशी जनतालाई पनि संविधानमा अपनत्व कायम गराउनको लागि बैठकमा सहभागीहरुले माग गरेको मन्सुरले जानकारी दिए । 
 
मन्सुरले बैठक व्यवस्थापिका संसद्मा पेश भएको संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्नको लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेल्ने विषयमा पनि छलफल भएको जानकारी दिए । मन्सुरले स्थानीय तहको निर्वाचनको लागि काँग्रेसले कस्तो तयारी गरिरहेको छ त ? भन्ने प्रश्नमा काँग्रेसले ४ महिना अघिदेखि नै जिल्ला कार्यसमितिहरुलाई निर्वाचनको माहोल बनाउन र काँग्रेसको पक्षमा प्रचारप्रसार गर्न आवश्यक निर्देशन दिईएको र सो अनुसार कामहरु भइरहेको बताए । 
 
राप्रपाका अध्यक्ष कमल थापाले आफू उपप्रधानमन्त्री बन्नु भन्दा पहिले संविधान संशोधन प्रस्तावको पक्षमा मत दिने मौखिक सहमति भएको खुलेको छ । स्रोतका अनुसार अध्यक्ष थापाले सरकारमा आउनुपूर्व नेपाली काँग्रेसका सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग संशोधनको पक्षमा मतदान गर्न सहमति गरेपछि उनलाई उपप्रधानमन्त्री सहित संघीय मामला तथा स्थानीय विकास मन्त्री बनाइएको थियो । 
 
स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाइएको बैठकमा संविधान संसोधनको विषयमा बढी केन्द्रीत भएको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँड लगायतका नेताहरुको सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ