पाँचथर। फिदिम नगरपालिकाले नेपाल सरकारले कार्यान्वयमा ल्याएको स्थनीय तहको नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले नगरपालिकाको नयाँ साइनबोर्डको उद्घाटन गरे।
कार्यक्रममा स्थानीय विकास अधिकारी तथा स्थानीय तह जिल्ला समन्वय समितिका संयोजक गिरिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता मेदिनी खत्री, जिल्ला शिक्षा अधिकारी राज कुमार विश्वकर्मा, पाँचथर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल, गैर सरकारी संस्था महासंघ पाँचथरका अध्यक्ष बालकृष्ण ओझा, पत्रकार महासंघ पाँचथरका सचिव गिरिराज बाँस्कोटा लगायतले आफ्नो धारणा राखेका थिए।
नयाँ स्थानीय तह अनुसार फिदिम नगरपालिकामा जम्मा १४ वडा निर्धारण गरिएका छन्। जसअनुसार नगरपालिकाको वडा नम्बर १, २ र ३ साविककै रहेका छन् भने ४ र ५ लाई समेटेर ४ नम्बर वडा ६, ७ र ८ लाई समेटेर ५ नम्बर वडा ९, १० र ११ लाई समेटेर ६ नम्बर वडा बनाइएको छ।
त्यस्तै साविक रानीटार गाविसको १ देखि ४ नम्बर वडालाई समेटेर ७ नम्बर वडा रानीटार ५ देखि ८ नम्बर वडालाई समेटेर ८ नम्बर वडा, साविक लुम्फाबुङ गाविसलाई ९ नम्बर वडा, साविक याङ्नाम गाविसको १ देखि ५ नम्बर वडालाई समेटेर १० नम्बर वडा बनाइएको छ। त्यसै गरी साविक नांगीनको १ देखी ५ लाई ११ र ६ देखि ९ लाई समेटेर १२ नम्बर वडा बनाइएको छ।
साविक लुङरुपाको १, ३, ७ र ९ लाई समेटेर १३ नम्बर वडा बनाइएको छ भने साविक रानीटार लुङ्रुपा गाविसको ९, ४, ५ र ६ वडालाई समेटेर वडा नम्बर १४ बनाइएको छ। कार्यक्रममा फिदिम नगरपालिकाका कार्यकारी अधिकृत निरज कुमार देवले नयाँ वडा कार्यालयमा सचिव समेत खटाइसकिएको जानकारी दिए।
जसअनुसार वडा नम्बर १, २ र ३ को संयुक्त वडा कार्यालयको सचिवको जिम्मेवारी हाङनारायण हाङसरुम्बालाई र वडा नम्बर ४, ५ र ६ संयुक्त वडा कार्यालयको जिम्मेवारी घनेन्द्रराज लाओतीलाई दिइएको छ। तत्कालका लागि उक्त वडा कार्यालय फिदिम नगरपालिकामै रहनेछन्।
त्यसै गरी वडा नम्बर ७ र ८ संयुक्त वडा कार्यालय सचिवको जिम्मेवारी जंग राईलाई, ९ नम्बर वडा कार्यालयको जिम्मेवारी राज कुमार न्यौपानेलाई १०, ११, १२ संयुक्त वडा कार्यालयको विवि मुखियालाई र १३, १४ संयुक्त वडा कार्यालयको सचिवको जिम्मा चन्द्र लिम्बूलाई दिइएको कार्यकारी अधिकृत देवले जानकारी दिए।