arrow

देव लिम्बूको चुनौती– मलाई होइन बाबुरामलाई कारवाही गर

logo
प्रकाशित २०७३ चैत २ बुधबार
baburam-bhattari-FNL.jpg.jpeg
काठमाडौं। नयाँ शक्ति पार्टीका नेता देव लिम्बूले आफूलाई होइन देश विरोधी गतिविधिमा लागेका डा. बाबुराम भट्टराईलाई चाहिँ कारवाही हुनुपर्ने माग गरेका छन्। उनले यस्तो माग राख्दै नयाँ शक्ति पार्टीमा स्पष्टिकरण पत्र बुझाएका छन्। पार्टी संयोजक बाबुराम भट्टराईले भारतको पक्ष लिँदै जातिवादी, साम्प्रदायिक र विखण्डनकारी विचार बोकेको आरोप लगाउँदै आएका लिम्बूलाई स्पष्टिकरण सोधिएको थियो। 
 
उनले स्पष्टिकरणमा बाबुराम भट्टराई भारतपरस्त, जातिवादी, साम्प्रदायिक भएको आरोप लगाउँदै उनीबाट पार्टी र देश बचाउनुपर्ने आशय व्यक्त गरेका छन्।
 
नेता लिम्बूले बाबुरामको चुनाव विथोल्ने रणनीति र भारत परस्त जातिवादी नीतिमाथि कडा प्रहार गर्दै पार्टीमा तानाशाही हिटलरी शैली सहन नसकिने स्पष्टिकरणमा उल्लेख गरेका छन्। जातिवादी र भारतपरस्त शक्तिहरुसँग नयाँ शक्ति पार्टी टाढै बस्नुपर्ने उल्लेख गर्दै लिम्बूले बाबुरामको नीतिमा कडा प्रहार गरेका छन्। उनले लेखेका छन्– ‘भारतीय हस्तक्षेपको चुईंक्क विरोध गर्न नसक्ने पार्टीहरुसँग नयाँ शक्ति तथा यसका नेता कार्यकर्ताहरु टाढै बस्नुपर्छ ।’
 
उनले लेखेका छन्– ‘ नयाँ संविधान जारी भइसकेपछि संविधानको अधिकतम उपयोग गर्नु नै आजको आवश्यकता हो, हिजो जातीय कोणबाट उठेका मागहरुलाई बोकेर हिँड्नुको अब औचित्य छैन । संविधानले प्रदान गरेको समावेशी अवधारणालाई कार्यान्वयनमा लैजानु नै देश र जनताको आवश्यकता हो र यसैमा सबै जातीय समुदायहरुको पनि हित छ भन्ने अवधारणासाथ नयाँ शक्ति पार्टी गठन भएको हो । यो अवधारणा विपरित पार्टी संयोजक डा. बाबुराम भट्टराई तथा अन्य केही नेताहरु चलिरहनुभएको देखिँदैछ र जनस्तरमा त्यस्तो गुनासो पनि आइरहेको छ ।’
 
उनले फेसबुक ट्विटरमा लेख्नु आफ्नो व्यक्तिगत स्वतन्त्रता भएको दावी गरेका छन्। लिम्बूलाई केही दिन पहिले बाबुरामले ट्विटरमा ब्लक गरेपछि हंगामा भएको थियो। लिम्बूले फेसबुक र ट्विटरमा बाबुरामको भन्दा ठिक विपरित विचार लेखेर बाबुरामलाई कडा प्रहार गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ