arrow

मन्दिर र गुम्बामा चुनावी प्रचार गरे कारबाही, अरु के-केमा छ बन्देज ?

भोजभतेर गर्नदेखि प्रचारप्रसार टाँस्न समेत प्रतिवन्ध

logo
प्रकाशित २०७३ चैत २ बुधबार
election_local4.jpeg
काठमाडौं । स्थानीय तहकाे निर्वाचन आउँदैछ । तपाईँ वा तपाईँका कुनै आफन्त स्थानीय तह आगामी बैशाख ३१ गते हुन गर्इरहेको निर्वाचनमा  कुनै पदमा उठ्दै हुनुहुन्छ भने प्रचारप्रसारको लागि ध्यान दिनुहोला । तपाईँको सानो प्रचारप्रसारको गल्तीले तपाईको उम्मेदवारी खारेजीसम्मको कारबाहीको भागेदार बन्न सक्नुहुनेछ । 
 
निर्वाचन आयोगले २०७२ सालमा जारी गरेको निर्वाचन आचारसंहिता २०७२ले उम्मेदवारले कहाँ र कसरी ज्ञिापन गर्न पाउने र कहाँ नपाउने भन्ने विषयमा नयाँ आचारसंहिता जारी गरेको छ । जस अनुसार कुनैपनि मन्दिर, मस्जिद र गुम्बा लगायतका धार्मिक स्थलहरुमा गएर प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरेको छ । 
 
आयोगले जारी गरेको आचारसंहितको पहिलो नम्बरमा कुनैपनि धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र वा समुदायको आधारमा घृणा वा द्वेष उत्पन्न हुने गरी कुनैक्रियाकलाप गर्न वा गराउन नपाउने उल्लेख गरेको छ । त्यस्तै दोस्रो नं को बुँदामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई आघात पर्ने गरी आलोचना गर्न पनि कुनै उम्मेदवारले नपाउने व्यवस्था गरेको छ । तर उम्मेदवार वा राजनीतिक दलको सदस्यको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको कामको बारेमा भने उम्मेदवारले आलोचना गर्न सक्ने व्यवस्था गरिएको छ । 
 
त्यस्तै तेस्रो नम्बरमा कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन बन्देज गरिएको छ भने पाँचौ नम्बरमा प्रचलित कानूनबमोजिम निर्वाचनसम्बन्धी कसूर मानिने कार्य गर्न वा गराउन मात्र्र होईन कि त्यस्तो कार्य गर्न उक्साउन समेत नपाउने व्यवस्था आयोगको आचारसंहितामा छ । 
 
त्यस्तैगरी, उम्मेदवार वा राजनीतिक दलले नेपाल सरकार, सार्वजनिक संस्था, स्थानीय निकाय वा कुनै परियोजनाको साधन स्रोत र सम्पत्ति आफ्नो पक्ष वा अर्काको विपक्षमा हुने गर प्रयोग गर्न वा गराउन नपाउने, मतदातालाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराउन र आयोगद्वारा सञ्चालित मतदाता नामावली संकलन, मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी त्यस्ता कार्यक्रमसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन समेत आयोगले प्रतिवन्ध लगाएको छ । 
 
कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचनसम्बन्धी प्रचार–प्रसार गर्न वा गराउन नपाउने, निर्वाचनसम्बन्धी प्रचार–प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नपाउने र निजी घरजग्गामा त्यस्तोघर जग्गाधनीको स्वीकृति नलिई राजनीतिक गतिविधि वा प्रचार प्रसार गर्न समेत नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । 
 
यसका अलावा उम्मेदवारहरुले महिलाको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन, अपाङ्गता भएको व्यक्तिको भावनामा आँच आउने किसिमले निर्वाचन प्रचार प्रसार गर्न वा गराउन, निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन र प्रचलित कानूनबमोजिम निषेध गरेको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा,¥याली, बैठक, भेला वा प्रचार प्रसार गर्न समेत पाउँदैनन् । 
 
आयोगले आसन्न निर्वाचनमा सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसार गर्न वा गराउन र उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न समेत बन्देज लगाएको छ । 
 
यसरी आयोगले प्रतिवन्ध लगाएका कार्य उम्मेदवारले गरेमा कसुर बमोजिम उम्मेदवारी खारेजीसम्मको कारबाही गर्ने अधिकार आयोगसम्म रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ