पाँचखालमा २८ देशका सेनाको अभ्यास हुने

प्रकाशित मिति : २०७३ चैत ६ आइतबार
काठमाडौँ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा परिचालन भएकासहित २८ मुलुकका सेना अहिले काभ्रेको पाँचखालमा भेला भएका छन् । 
 
नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरेको १५ दिने शान्ति अभ्यास (तेस्रो) मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । यो अभ्यास भोलि सोमबारदेखि सुरु भई यही चैत २१ गतेसम्म चल्नेछ । 
 
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने सेनाबीच सहकार्य र काममा एकता ल्याउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ । 
 
नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा रहेको छ । 
 
नेपाली सेनाले हालसम्म विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । नेपाली सेनाका चारहजार ४६२ जनशक्ति हाल विश्वका १५ वटा मिसनमा खटिइरहेको नेपाली सेनाले जनाएको छ । 
 
नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यस बेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । यस पटकको अभ्यासमा भारत, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, अमेरिकालगायतका देशका सेनाको सहभागिता रहनेछ । 
 
त्यसपछि हरेक वर्ष निरन्तररुपमा यो अभ्यास शान्ति प्रयाससंग जोडिएर विभिन्न नाममा चल्दै आएको छ । 
 
नेपाली सेनाद्वारा आइतबार तालिम केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति एवम् महासेनानी प्रयोगजंग राणाले शान्ति अभ्यास तीनमा युद्ध कौशल, स्थलगत अभ्यास, रणनीतिक अभ्यास र टेवल अभ्यासजस्त अभ्यास हुने बताए । 
 
उक्त अभ्यासमा एकहजार २४ जना विभिन्न देशका सेनाले भाग लिने पनि उनले जानकारी दिए । यसअघि सन् २०१३ मा भएको शान्ति अभ्यास दुईमा २३ मुलुकका सेनाले भाग लिएका थिए । सो तालिममा नेपाली सेनाको महिला सैनिकले नेतृत्व गरेको एउटा गुल्मले पनि भाग लिनेछ । 
 
यस अभ्यासमा नेपाली सेना र विदेशी सेनाका गरी ७५ जना सैनिकले भाग लिनेछन् । स्थलगत अभ्यास गराउन नेपाली सेनाले पाँचखालमा एउटा गाउँ नै तयार गरेको छ । उक्त तालिमको भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
 
सो अभ्यासबाट शान्तिस्थापनामा खटिएका मुलुकका सेनाबीचमा काममा एकरुपता भई कार्यदेश पूरा गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । रासस 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ