arrow

पत्रकार महासंघमा लगाइएको तला ११ दिनपछि खुल्यो

क्रान्तिकारी पत्रकार महासंघ र नेपाल पत्रकार महासंघबीच तीन बुँदे सहमति

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
FNJ_building.jpeg
 काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाइएको ताला ११ दिनपछि खुलेको छ । पत्रकार महासंघको सदस्यता शुद्धिकरणको माग गर्दै क्रान्तिकारी पत्रकार महासंघले फागुन २७ गते महासंघ केन्द्रमा ताला लगाएको थियो । 
 
सोमवार नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघबीच तीन बुँदे सहमतिपछि ताला खुलेको हो । पत्रकार महासंघले गैरपत्रकारहरुलाई सदस्यता वितरण गरेको, वर्षौदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखेको र फर्जी सदस्यता बाँडेको, विधानविपरित सदस्यता स्थानान्तरण गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले तालाबन्दी गरेको थियो । 
 
क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धिकरण तथा फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टाभर्ना विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने दुई पक्षबीच सहमति भएपछि ताला खुला खोलिएको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले बताए । 
आफूहरुसँग भएको सहमतिअनुसार महासंघले निर्णय नगरेमा पुनः तालाबन्दी गर्न बाध्य हुने अध्यक्ष राउतले बताए । 
 
वार्तामा पत्रकार महासंघका तर्फबाट अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्षद्वय खिलबहादुर भण्डारी, धर्मेन्द्र कर्ण, महासचिव उजीर मगर, सचिव ध्रुव लम्साल र संगीता खड्का तथा क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्ष नारायण पंगेनी, महासचिव केशरमणि कटुवाल, तथा सल्लाहकार रामचन्द्र हुमागाईँ सहभागी थिए ।  
 
सञ्चालनमै नभएको जनदिशा दैनिक शाखा, स्वतन्त्र समाचार सेवा लगायतका प्रतिष्ठानका विषयमा पत्रकार महासंघ पदाधिकारीबीच नै विवाद भएपछि यसअघिको वार्ता स्थगित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ